राष्ट्रपतिविरुद्धको रिट हरि फुँयालको इजलासमा

राष्ट्रपतिविरुद्धको रिट हरि फुँयालको इजलासमा

केन्द्रबिन्दु
0
Shares

नागरिकता विधेयकसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुवै सदनबाट पास भएको विधेयक प्रमाणीकरण नगरेको भन्दै सर्वोच्चमा दायर पाँचवटा मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि अधिवक्ताहरू सागर बराल, सुनीलरञ्जन सिंह, सुनीलकुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका छन् । 

अस्ति शुक्रबारै सुनुवाइ हुने भनिए पनि समय अभावका कारण आजका लागि सारिएको थियो । आज पाँचवटै मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा तोकिएको छ ।  यस्तै, सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्धको रिटको मुद्दा पनि फुँयालको इजलासमै तोकिएको छ। प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सभामुख र उपसभामुखको पद पनि रिक्त गराउन माग गरिएको छ।

रिटमा राष्ट्रपतिको कदम संवैधानिक नैतिकता, वस्तुनिष्ठता, सुशासन र संवैधानिक संस्कारको वर्खिलाफ भएको उल्लेख गरिएको छ। साथै, रिटमार्फत राष्ट्रपतिलाई संविधानको धारा ११३ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण गर्नु भनी परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलालले सर्वोच्चमा रिट दायर गरेका हुन् । मंसिर ४ गते हुने निर्वाचनको प्रक्रिया शुरू भइसक्दासमेत सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले पदबाट राजीनामा नदिएको अवस्थामा अदालतबाट रिक्त गराउन माग गरिएको छ ।

Logo