हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ ।
मंगलवार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको भन्दै त्यसलाई सुधार गर्न माग गरेको हो ।
२०७९ असोज ४ गतेको मन्त्रीस्तरीय निर्णयले आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा शैक्षिक योग्यताको अवमूल्यन भएको संघको भनाई छ । लोकसेवा आयोगमार्फत सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुमाथि मान मर्दन तथा अत्याचार भएको भन्दै सो निर्णय सच्याउन माग गरिएको छ ।
मन्त्री खापुङलाई ज्ञापन पत्र बुझाउँदै हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारीले स्वास्थ्य केन्द्रको संगठन संरचना अवैज्ञानिक र असमान तवरले बनाइएको बताए । उनले यसरी संगठन संरचना बनाएर स्वास्थ्य नीति २०७६ को समेत खिल्ली उडाइएको बताए ।
उनले सो संगठन संरचनात्मक दरबन्दी २४ घण्टाभित्र फिर्ता गरी सर्वपक्षिय छलफलबाट विद्यमान नीति, नियम र कानूनसम्मत हुनेगरी स्वास्थ्य प्रणाली सुधार गर्न माग गरे । उनले भने, ‘एकेडेमिक कोर्ष अध्ययन गरी माथिल्लो तहमा लोकसेवा आयोग मार्फत् सेवा प्रवेश गरेका हेल्थ असिस्टेन्ट तथा स्टाफ नर्सहरुको मानमर्दन हुने केहि निहित स्वार्थ बोकेका व्यक्तिहरुको खल्तीबाट आएको भन्नेमा कुनै शंका छैन । यसले योग्यता र लोकसेवा प्रक्रियाबाट सेवा प्रवेश गर्ने लगायत उपर अत्याचार हुने हाम्रो ठहर छ र उक्त निर्णयप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’
ज्ञापन पत्र बुझ्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले संघको मागप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । ‘यहाँहरुले भने अनुसारको के रहेछ, हामी गम्भिर ढंगले बसेर छलफल गर्नेछौँ । त्यसलाई केलाउने छौँ । त्रुटी भएको रहेछ भने सच्याइनेछ । बुझाइमा तलमाथि भएको रहेछ भने बुझाबुझ गरौँला । ध्यानाकर्षण गराउनुभयो, हामी छलफल गर्छौं ।’ उनले भने ।
हेल्थ असिस्टेन्ट संघ नेपालले आफूहरुको माग सम्बोधन नभएमा चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ ।































प्रतिक्रिया