नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वभाविक भएपनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने बताए । एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न नसके कुसंस्कारको रुपमा पछिसम्म स्थापित हुने उनको भनाई छ ।
‘चाडपर्वलाई हामीले गतिशीलतामा हेर्नुपर्छ । कृषिप्रधान कालखण्डमा बनाइएका, ज्ञान,विज्ञानको आविष्कार नभएका बेलामा एउटा भगवानको परिकल्पना गरेर आफ्नो आफ्नो प्रकारका सबैखाले, हिन्दु, मुस्लिम, क्रिश्चियनका, आदिवासी जनजातीहरुका सबैका आफ्ना आफ्ना प्रकारका भगवानको आविष्कार गरिएको थियो । किनभने यो विज्ञान गतिका नियमहरु थाहा थिएन ।’ उनले भने, ‘जसकारण ठूलो एउटा महाशक्ति हुनुपर्छ, जसले यो चलाइरहेको छ भन्ने अनुमान गरेर सिर्जना गरिएका थिए । अधिकांश चाडपर्वमा त्यस्तै देखिन्छ । पहिला त स्वभाविक थिए । अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्छ । एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकुल संस्कृतिका कुरालाई परिवर्तन गर्न सकिएन भने कुसंस्कार भएर बस्छ । त्यसपछि मानिसले संस्कृतिको नाममा विभेदकारी, अवैज्ञानिक कुरा पनि पछ्याएर बसेका छन् ।’
अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामुलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले नेपाल जस्तो बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताए । उनले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको बताए ।
‘यो संविधान आधा गिलास भरि र आधा खालि छ । नेपालको जस्तो भूराजनीतिक अवस्था छ, दुई ठूला देशको बीचमा हामी छौँ, त्यसलाई धयन दिँदै हामीले पूर्ण रुपमा क्रान्ति पूरा गर्न नसकेको नै हो । सम्झौताको बाटोबाट गएपनि मुलतः संविधान बनाएर अग्रगमनको ढोका खोल्यौँ । तर पूर्ण गर्न सकेनौँ ।’ उनले भने, ‘पहिलो कुरा बहुजातिय, बहुभाषिक मुलुकमा संघीय संरचना जसरी आफ्नो जाती भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो । अर्को जुन शासकीय निर्वाचन प्रणाली अपनायौँ, त्यो खिचडी खालको अपनायौँ ।’





























प्रतिक्रिया