लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ ।
नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि भारततर्फ रहेका ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको हो । ब्यारेजमा बिहीबार बिहान साढे ८ बजे २ लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ ।
नारायणगढमा बिहान पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ ।
नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।
चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार जिल्लाका सबै सुरक्षा निकायलाई ‘अलर्ट’ रहन निर्देशन दिइएको छ ।































प्रतिक्रिया