हिमाली जिल्ला मनाङमा असोजमै हिमपात भएको छ ।
केही दिनको अविरल वर्षासँगै हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार यसअघि असोज पहिलो साता नै कहिले हिउँ परेको थिएन । यसअघि २०७१ मा असोज तेस्रो साता हिमआँधी (हुदहुद) आएका कारण धनजनमा क्षति पु¥याएको थियो ।
मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेको जानकारी दिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका लेखापाल उमाकान्त सापकोटाका अनुसार हिउँ परेपछि पर्यटक रोकिएका छन् । मनाङ गाउँमा मात्रै ६० जनाको हाराहारीमा विदेशी पर्यटक रहेको उनले बताए ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नार्पाभूमि गाउँपालिकाको मेतादेखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको छ । सदरमुकाम चामेदेखिको देखिन डाँडाकाँडामा पनि हिमपात भएको छ । उनले एक सूचना जारी गरी हिमपात र बाढीपहिरोबाट जोगिन आग्रह गरेका छन् ।































प्रतिक्रिया