खोटाङमा २८ जनाको उम्मेदवारी

खोटाङमा २८ जनाको उम्मेदवारी

केन्द्रबिन्दु
0
Shares

आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच खोटाङमा चुनावी तालमेल भएको छ । 

प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (ख)मा कांग्रेसका भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका छन् । 

उम्मेदवारी दर्ता गराउन सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दलका साझा उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको ¥याली लिएर आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । स्थानीय तहको निर्वाचनमासमेत चुनावी तालमेल गरेका तीन राजनीतिक दलका उम्मेदवार उत्साहित देखिएका थिए । 

यसैबीच तीन दलीय गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसले नै बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा (क)मा सुवासकुमार पोखरेल र धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

 नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा (क)मा प्रदेश सदस्य पाँचकर्ण राई र प्रदेशसभा (ख)मा रामप्रसाद दङ्गालले उम्मेदवारी दर्ता गराएका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधिसभाका लागि डा कृष्णकुमार राई तथा प्रदेशसभा (क)का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा (ख)का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रमा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । प्रदेशसभा (क) र प्रदेशसभा (ख)का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ । 

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा (क)मा केशव राई र प्रदेशसभा (ख)मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा (क)मा प्रयाग राई र प्रदेशसभा (ख)मा विमला राईले उम्मेदवारी दिनुभएको छ । 

आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराएका छन् भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीले जानकारी दिए । यस्तै प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई र सर्वधन राई तथा प्रदेशसभा (ख)का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ । 

Skip This
Skip This
Logo