विष्णु पौडेलको क्षेत्रमा गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

विष्णु पौडेलको क्षेत्रमा गठबन्धनका गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ । 

नेकपा (एकीकृत समाजवादी) का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी रहेका थिए । गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ । भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि उनि दलका उम्मेदवार रहेका थिए । 

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमद्वारा गएराति जारी सूचनामा गुरुङ र अर्का स्वतन्त्र उम्मेदवार हिमाल बस्याल प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १६ (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकाले निज उम्मेदवारको मनोनयन खारेज हुने उल्लेख छ ।

उम्मेदवार गुरुङ आफैँ अध्यक्ष रहेको नर्थवेष्ट नेपाल इन्फा प्रालिले तिर्नुपर्ने रु दुई करोड २५ लाख नतिरेको भन्दै अदालतमा २०७६ सालमा बैंकिङ कसुरसम्बन्धी उजुरी परेको थियो । अदालतले बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अञ्जित विष्टलाई तिर्नुपर्ने दायित्व नतिरेको भन्दै २०७८ मङ्सिर २१ गते फैसला गरेको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासले नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका छ जनालाई विनिमय अधिकार पत्र ऐन, २०३४ को दफा १०७ (क) बमोजिम जनही रु दुई हजार जरिवानासहित मागदाबीअनुसारको बिगो तिराउने फैसला गरेको थियो । निर्वाचन कानुनले अदालतको बैंकिङ कसुरमा सजाय पाएको र कुनै पनि कालोसूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ ।

त्यस्तै सोही क्षेत्रबाटै प्रतिनिधिसभामा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका डा.भुसालको भने प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा १५ को खण्ड (ङ) बमोजिम उम्मेदवार हुन पाउने योग्यता नपुगेकाले उम्मेदवारी खारेज भएको उल्लेख छ ।

भुसालविरुद्ध स्वतन्त्र उम्मेदवार विष्णु विश्वकर्मा र टोपनारायण पौडेलले उजुरी दर्ता गराएका थिए । उनिविरुद्ध सरकारी सेवा लिएर अध्ययन जारी राखेको अवस्थामै निर्वाचनमा उम्मेदवार बनेको उजुरी थियो ।

Skip This
Skip This
Logo