टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

केन्द्रबिन्दु
0
Shares

लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । 

यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पुर्‍याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र सुत्केरी, तीन सय २० पाँच वर्षमुनिका बालबालिका, चार सय पाँच वर्षमाथिका बालबालिका, ५५ ज्येष्ठ नागरिक, २० अपाङ्गता भएका व्यक्ति र नौ अन्य बिरामी रहेका नगरपालिकाले जनाएको छ ।

बाढीका कारण नागरिक समस्यामा परेकाले विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्राथमिकताका आधारमा राहत दिने निर्णय गरेको छ ।नगरपालिकालाई बाढीपीडितका लागि तत्काल टेन्ट, त्रिपाल, खाद्यान्न, भाँडाकुँडा, खानेपानी, तयारी खाना, गुन्द्रीलगायतका सामान आवश्यक पर्ने भएकाले त्यसको जोहोका लागि सरोकारवालासँग छलफल गरिएको छ ।

बाढीका कारण टीकापुर नगरपालिका सबै वडा प्रभावित भएका छन् । बाढीले बढी क्षति वडा नं ५, ६, ७, ८ मा पुर्‍याएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि कतिपय ठाउँमा नदी ओभरफ्लो भएर बस्तीमा पसेको छ भने कतिपय ठाउँमा नदी फुटेर बस्तीमा पसेको हो ।टीकापुर–८ को वनगाउँमा कर्णाली नदी फुटेर बस्तीमा पस्दा त्यहाँ ठूलो क्षति भएको छ । 

बाढीले नागरिक प्रभावित मात्र नभई धानबाली सडेर बोटमै उम्रन थालेको छ । फुल्न थालेको धान पनि सखाप भएको वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । वडा नं ५ का वडाध्यक्ष बलवीर चौधरी पनि आफ्नो वडामा धानबाली खेतमै उम्रिसकेको बताउँछन् । 

बाढी प्रभावितलाई नगद सहायता

कैलालीका यी दुई पालिकामा विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता गरेको छ । पूर्वानुमानमा आधारित सूचनाअनुसार गत वर्षको बाढीपछि सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार रु १५ हजारका दरले नगद सहायता गरिएको छ ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत टीकापुरका दुई हजार नौ सय १६ र जानकीका एक हजार दुई सय परिवारलाई नगद सहयोग प्रतिपरिवार रु १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिए। 

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी नगद सहायता बाढीकै समयमा दिँदा र पछि दिँदाको प्रभावबारे जानकारी पाउन र विपद्मा परेकालाई सहयोग हुने भएकाले गत वर्षको तथ्याङ्कानुसार नगद पाइरहेका बताए । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले यहाँ कर्णाली मुख्य समस्या भएको बताउँछन् । 

टीकापुरका नगरप्रमुख रामलाल डगौरा थारूले विभिन्न ठाउँमा डुबान भएकाले तथ्याङ्क लिने काम भइरहेकाले सबैको सल्लाह लिएर जोखिमअनुसार राहत दिने, समस्यामा परेकालाई उद्धार गर्ने गरी सहकार्य गर्न सङ्घसंस्थालाई आग्रह गरे । उता भजनी नगरपालिकामा भने बाढीले हजारौँ प्रभावित भएका छन् । सयौँ परिवार एक सातादेखि सडक तथा खुला ठाउँमा बसिरहेका छन् । भजनीमा भने बाढी प्रभावितको अवस्था कष्टकर छ ।

Logo