दाङको बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो बेपत्ता भएका दुई किशोरी आज बेलुकी मृत अवस्थामा फेला परेका छन् ।
घटना भएको दंगीशरण गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्रीका अनुसार नदीमा डुबेका दङ्गीशरण गाउँपालिका–२ सिमलकुुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमाचन्दकाे शव स्थानीयले आज आइतवार बेलुकी फेला पारेका हुन् ।
डुबेको ठाउँदेखि झन्डै डेढ किलोमिटरको दूरीमा करिब १० मिटर गहिराइमा दुई जनाको शव एकै ठाँउमा घोप्टो परेको अवस्थामा फेला परेको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।
शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयवासीलाई खबर गरेकीले स्थानीयवासीले प्रहरीलाई बोलाएको थियो ।































प्रतिक्रिया