रुपन्देही -२ मा सत्ता गठबन्धनले जनमुक्तिका थापालाई समर्थन गर्ने

रुपन्देही -२ मा सत्ता गठबन्धनले जनमुक्तिका थापालाई समर्थन गर्ने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने भएको छ ।  

गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनका शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै थापालाई समर्थन निर्णय भएको जानकारी दिएका हुन् । 

‘रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव वहादुर थापालाई गठबन्धनको तर्फवाट साझा उम्मेदवारको रुपमा समर्थन गर्ने निर्णय गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ । 

यसअघि गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका नेकपा एसका गुरुङको बैंकिङ क्षेत्रमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि गुरुङले क्षेत्राधिकार मिचेर निर्णय गरेको भन्दै सर्वोच्च खदालतमा  मुद्दासमेत दर्ता गरेका थिए तर, सर्वोच्चले उक्त निर्णयलाई सदर गरेपछि उक्त क्षेत्रमा गठबन्धनबाट अरु कुनै आधिकारिक उम्मेदवार थिएनन् ।

यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेका छन् ।

Logo