काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा पानीको उचित व्यवस्थापन गर्न नसक्दा पहिरो गएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पपछि बस्ती उच्च जोखिममा रहेको भएपनि सरकारले व्यवस्थापनमा ध्यान नदिएको भन्ने टिप्पणी भइरहेका बेला प्राधिकरणले यस्तो जनाएको हो ।
प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले पानीको व्यवस्थापन गर्न नसक्दा पहिरो गएको बताए । त्यस ठाउँमा भूकम्पपछि लगत्तै पहिरो गएको उल्लेख गर्दै उनले भने–‘प्राधिकरणको नेतृत्वमा त्यती बेला अध्ययन भएको थियो । अध्ययनले बस्ती केही पनि गर्न नपर्ने गरी १ नम्बर क्याटागोरीमा देखायो । त्यसपछि फेरि प्राधिकरणले अध्ययन गर्दा बस्ती नै सार्न नपर्ने तर पर्खाल लगाएर केही सुधार गर्नुपर्ने देखिएको थियो । क्याटागोरी २ मा थियो । बस्ती नै सार्नुपर्ने अवस्था थिएन ।’
पानीको उचित निकासका लागि स्थानीय सरकारले काम गर्न नसकेको उनको भनाइ छ । उनले भने–‘लिदीमा पानीको व्यवस्थापन हुन नसक्दा पहिरो गयो । पानीको निकास भएको भए पहिरो जाने थिएन । पानी फर्काएर खोल्सोमा पठाउने व्यवस्था स्थानीय सरकारले गर्न सकेन ।’ नेपालमा ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका बस्तीहरुको पहिरोको उच्च जोखिममा रहेको भएपनि लिदीको अवस्था त्यस्तो नभएको उनको दाबी छ । भूकम्पपछि सिन्धुपाल्चोक, दोलखा, गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, काभ्रे लगायत १४ जिल्लाहरु पहिरोको उच्च जोखिममा रहेका छन । यस्तै ३१ जिल्लाहरु पहिरोको जोखिममा छन । प्राधिकरणले ४ हजार ८ सय २९ बस्ती पहिरोको उच्च जोखिममा रहेको जनाएको छ । अहिलेसम्म ४ हजार १ सय ७६ बस्ती व्यवस्थापन भइसकेको भएपनि अझै ५ सय बस्ती जोखिममा रहेको उनले जानकारी दिए ।
पहिरोको जोखिम कम गर्न ३० डिग्रीभन्दा बढीको स्लोपमा रहेका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने, बालीनाली लगाउने प्रकृयामा सुधार गर्नुपर्ने र पानीको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । कोरोनाका कारण प्राधिकरणले निर्माण गरी रहेका नीजि आवास निर्माण तथा ऐतिहासिक सम्पदाहरुको निर्माणमा समस्या भएको उनले बताए । आर्थिक वर्षको अन्तिमसम्म नीजि आवास निर्माणको सबै काम सम्पन्न गरिसक्ने योजना रहेपनि कोभिडका कारण अझै १२ प्रतिशत काम बाँकी रहेको उनले जानकारी दिए । सडक निर्माणको काम पनि एक वर्षपछि धकेलिएको उनको भनाइ छ । साथै, धरहरामा ढलानको सबै काम सम्पन्न गर्ने योजना भएपनि कोभिडले केही ढिलाइ भएको उनले बताए ।
लिदीमा गत शुक्रबार बिहान गएको पहिरोले २८ घर ध्वस्त भएका थिए । पहिरोमा परि अहिलेसम्म १८ जनाको शव भेटिएको छ भने २१ जना अझै वेपत्ता छन् ।































प्रतिक्रिया