मकवानपुर ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्श अनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति १२ बजेदेखि आज राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको भए पनि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पुनः निषेधाज्ञा जारी गर्न बाध्यता भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले बताए।
जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । बैठकले निषेधाज्ञा जारी गरिए अनुसार बाहेक जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्व लगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गरिएको र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए।
उनका अनुसार, निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म सर्व साधारणलाई आवश्यक खाद्यान्न, इन्धन, औषधि लगायत अतिआवश्यक वस्तु खरिद गर्न समय निर्धारण गरिएको र सर्वसाधारणले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक यातायात, निजी यातायात, र मोरटसाइकललाई निषेधाज्ञा जारी भए अनुसार सञ्चालनमा कडा रोक लगाइएको बताए।
सो बैठकले मकवानपुरको मनहरि गाउँपालिका क्षेत्र पूर्व–पश्चिम महेन्द्र राजमार्ग लगायत हेटौँडा उपमहानगरपालिका क्षेत्रका १ देखि १९ वटै वडासम्ममा सोही मितिसम्म निषेधाज्ञा जारी गरिएको आदेशलाई उल्लङ्घन गरेको पाएमा कानूनी कारवाही अघि बढाइने भएको प्रजिअ नेपालले जानकारी दिए । बैठकले मकवानपुर जिल्लाभर धार्मिक, सांस्कृतिक, विवाह, सभा–समारोह, जन्मोत्सव पर्वलाई निषेध गरिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस





























प्रतिक्रिया