काठमाडौं ।
विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९ औँ स्थानमा यथावत रहेको छ ।
पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो । पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ । एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । दक्षिण एशियाली देशको वरियतामा नेपालको स्थान दोस्रो छ ।
यस्तै फिफा वरियतामा दक्षिण एशियाली देश भारत ५५ औँ, बङ्गलादेश १३४ औँ, श्रीलङ्का १४० औँ, माल्दिभ्स १४२ औँ तथा भुटान १५४ औँ स्थानमा रहेका छन् । विश्व वरियतामा अमेरिका पहिलो, जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्विडेन पाँचौँ, इङ्ग्ल्याण्ड छैटौँ, अष्ट्रेलिया सातौँ, ब्राजिल आठौँ, क्यानडा नवौँ र उत्तर कोरिया १० औँ स्थानमा रहेका छन् ।रासस





























प्रतिक्रिया