नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामू घुँडा टेकेर बसेको आरोप लगाएका छन् ।
दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसको आरोप लगाएका हुन् ।
'विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्ने । उहाँको छोरीलाई दिनभर थुनेर साझँ छोडिदिने जस्ता क्रियाकलाप निन्दनीय छन्,' उनले भने । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उनको भनाइ छ ।
'हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झियो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आउँछन् तब देश विग्रन्छ । हामीले १ सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौं । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,' कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गर्दै ओलीले भने ।
विकास गर्न टालाटुली बाटुली कति राम्री कठपुतली भएको सरकारले नहुने भन्दै उनले स्थायी सरकार चाहिने बताए । 'त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभइ देश बनाउनका लागि भोट दिनु होला,' उनले भने ।
साथै एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गरे । उनले भने, 'अब गठबन्धनको प्रधानमन्त्री को हो ? गोरखा बाट प्रचण्ड म हुँ भन्छन्, कांग्रेसका गगन थापा म हुँ भन्छन्, सेर बहादुर देउवा डडेल्धुराबाट मै हुँ भन्छन् र अन्य दलहरुको त कुरै छोडौं। त्यसैले एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाई देश विकास गर्ने योजना छ, सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्छु ।'































प्रतिक्रिया