प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेका छन् ।
सोमवार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैलेपनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूच्ना, चरित्र हत्या लगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए । उनले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन जस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराए ।
उनले भने, ‘अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौँ । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो । यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो, त्यसकारण यहाँले भनेजस्तै भाषामा सिधै भन्ने हो भने यहाँहरुले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ । सामाजिक सञ्जाल भनेर असामाजिक किसिमका कुनैपनि कुराहरु त्यहाँ राखिदिनु हुँदैन भनेका हौँ । आयोगले जुन विषयमा इस्यू उठाएको हो, त्यो विषय भनेको त्यहाँ लेखिएको कुरा तपाईहरुले हेर्दा, आँखा थुन्नुपर्छ । हेर्नै सक्नुहुन्न । छरपस्टै छ । त्यो कसैले पढ्यो भने कसैले सुन्छ कि भनेर कान थुन्नुपर्छ र जसले लेखेर हालिरहेको छ, उसले त्यस्तै कुरा आफ्नो पक्षमा कसैले गर्दियो भने के भन्छ भनेर सोच्दा त्यो कल्पना गर्न पनि सकिँदैन । त्यस्ता विषय नराखिदिनुहोस् । यस्तो कुरा कहिल्यै पनि राख्नु हुँदैन, अहिले उम्मेदवारहरु घरदैलोका क्रममा हुनुहुन्छ, तपाईलाई त्यो उम्मेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अध्यारो कोठामा बसेर ढुंगा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस् ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहीता कडाई गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिवद्ध रहेको बताए ।
उनले भने ‘अहिले कतै कतै भनिने गरेको छ, निर्वाचन आयोग अलि कडा भएर हो की, निर्वाचनको माहोल नै बनेन, तर आजदेखि हामी तपाईहरुको साथमा छौँ । साँच्चै नै अब निर्वाचनको एउटा माहोल बन्नेछ । आचारसंहीता भन्ने विषय कलाकारहरुका लागि कुनै नौलो विषय होइन, किनभने तपाईहरु कुनैपनि कुरा उल्लंघन गर्न नै चाहनुहुन्न । नैतिकता र इमान्दारितालाई अलिकति कमजोर ठान्नेहरुका लागि यो कडा हतियार हुनसक्छ । तर तपाईहरु सधैँ इमान्दारिता नैतिकता, आफ्नो पेशागत धर्मलाई लिएर हिँड्ने कलाकारहरुबाट हामी यो अपेक्षा त गर्दैनौँ, यदी कहीँ कतै भइहाल्छ भने त्यसमा पनि शतर्क रहिदनुहुन आग्रह छ ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई उदाहरणीय बनाउनका लागि कलाकारहरुले आयोगका सूचनाहरु नागरिकसमक्षा प्रवाह गर्नेकुरामा सहयोगको ठूलो अपेक्षा राखेको बताए । आसन्न निर्वाचनमा वृद्धवृद्धा, रोगी, शारीरिक अशक्तता भएका व्यक्तिहरुको सहजताका लागि पनि उचित व्यवस्था मिलाएको उनले बताए ।





























प्रतिक्रिया