जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानुन निर्माण गर्छुः ओनसरी घर्ती

जनताको कुनैपनि हक, अधिकार कटौती नहुने कानुन निर्माण गर्छुः ओनसरी घर्ती

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)की नेतृ ओनसरी घर्तीले चुनावी घरदैलोले आसन्न निर्वाचनमा आफ्नो जित झनै सुनिश्चित गरेको बताएकी छन् । 

बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलो अभियानका क्रममा नेतृ घर्तीले गठबन्धनको अभिमतले निर्वाचन जित्नेमा ढुक्क रहेपनि चुनावी घरदैलोले झनै उत्साह थपेको बताएकी हुन् । 

सत्ता गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधि सभाकी साझा उम्मेदवारसमेत रहेकी घर्तीले घरदैलो अभियानमा निर्वाचन क्षेत्रका मतदाताले गरेको स्वागतले आफ्नो टिममा उत्साह थपेको बताइन् । उनले आसन्न निर्वाचनमा आफ्नो जितमा स्पष्ट रहेको र मंसिर ४ को निर्वाचन प्रक्रियामात्रै कुरेर बसेको बताइन् । 

उनले भनिन्, ‘म र मेरो टिम धेरै नै उत्साहीत छ । घरदैलोमा जाँदा जनताले धेरै माया गर्नुभएको छ । हामी विजयीको लागि पहिल्यैबाट स्पष्ट छौँ । घरदैलोमा आउँदा झनै उत्साहीत भएका छौँ । विश्वस्त भएका छौँ । हामी मंसिर ४ को प्रक्रियालाई मात्रै कुरेर बसेका छौँ । हामी सत्तामा पुगेपछि जनताको हक अधिकार कुनैपनि कटौती नहुने गरी कानून बनाउनेछौँ । जनताको विकास निर्माणको एजेण्डालाई पहुँचमा पु-याउनेछौँ । खानेपानी, खेलकुद, करिडोर, फोहोर लगायतका जनताका समस्यालाई हामीले समाधान गर्नेछौँ । हामी प्रत्येक दिन बिहानको समयमा जनताको घरघरमा पुगेर भोट माग्ने काम गरिरहेका छौँ । आम नागरिकहरुको स्वागतले भोलिका दिनमा यस क्षेत्रमा मेरो कर्तव्य बढेको महशुस भएको छ । यो समुदाय भित्र ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा हुनुहुन्न । सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग गर्नुभएको छ । बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्या उठाउनुभएको छ । यी समस्यालाई सरकारको पहुँचसम्म पु-याउनेछु ।’
 
प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ घर्तीले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा ६४ प्रतिशत जनसमुदाय अहिले पनि खानेपानीको पहुँचमा नभएको भन्दै उनीहरुको माग पूरा गर्ने प्रतिवद्धता जनाइन् । उनले सफा, सुन्दर, सुरक्षित र दिगो विकासको माग जनताले गरेकाले  बाटो, पर्यटन क्षेत्रको विकास, स्पोर्ट्स सिटीको अवधारणा, ढल, कोरिडोरको समस्यालाई सरकारको पहुँचसम्म पु-याउने बताइन् । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीलाई जित दिलाउन राजनीतिक दलका शीर्ष नेताहरु पार्टीका चुनावी एजेण्डा लिएर देश दौडाहामा छन् । 

Skip This
Skip This
Logo