काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि शुक्रबार गठित कार्यदलले शनिबारदेखि काम थाल्ने भएको छ।
शुक्रबार आन्तरिक परामर्श तथा गृहकार्यमा व्यस्त भएको कार्यदलको पहिलो बैठक शनिबार बस्ने पार्टी महासचिव एवम् कार्यदलका संयोजक विष्णु पौडेलले जानकारी दिए।
‘विवाद समाधानका लागि शीर्ष तहमा छलफल सकारात्मक रुपमा अगाडि बढेको छ’, महासचिव पौडेलले भने, ‘कार्यदलको पहिलो बैठक शनिबार बस्नेछ।’
शुक्रबार पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो। बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल पश्चात कार्यदल गठन भएको हो।
कार्यदलका सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन् । कार्यदलले पार्टीका आन्तरिक समस्याको समाधानका लागि गृहकार्य गरी सुझाव प्रस्तुत गर्नेछ।
शुक्रबार बिहान महासचिव पौडेल र जनार्दन शर्मासँग आफ्नै निवासमा भेट गरे लगत्तै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । बिहीबार पनि अध्यक्षद्वयबीच करिब चार घण्टा लामो छलफल भएको थियो।
ओलीसँगको छलफल लगत्तै बिहीबार दिउसो अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए।
छलफलमा दाहालले ओलीसँगको कुराकानी सकारात्मक भएको र अब समाधान उन्मुख बनाएर लैजान पहल गरिएको बताएका थिए।
दाहालले बालुवाटार छलफलबारे ब्रिफिङ गरेका थिए। वरिष्ठ नेता नेपालले भने त्यहाँको छलफलमा पनि प्रधानमन्त्री ओलीको चरित्र र शैली सधैं उही रहिरहेकोले झट्ट विश्वास गरेर जान सकिने अवस्था अझै नरहेको बताएका थिए।अन्नपूर्णबाट































प्रतिक्रिया