काठमाडौं ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाभित्र कुनै पनि सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा तथा कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा/साइकल सञ्चालन हुने व्यवसायमा पूणरुपमा रोक लगाइएको छ ।
शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले खुला स्थानमा भेला हुने, भिडभाड गर्ने तथा जात्रा, महोत्सव सञ्चालन रोक लगाएको छ। साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मको लागि सो प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारि गरेका छन् ।
यस्तै भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न पनि रोक लगाइएको छ । दैनिक हुने नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधिमा रोक लगाइएको छ ।
त्यस्तै चाडपर्व, धार्मिक–साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाइएको छ । अब परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर धार्मिक साँस्कृतिक गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।
शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।
उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरित श्रमिकको ओसारपसार गर्ने र टेक अवे बाहेक रेस्टुरेन्ट सञ्चालनमा पनि कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।






























प्रतिक्रिया