काठमाडौं ।
एन्फाले राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाएको एक जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार संक्रमित खेलाडीको स्वाब परिक्षण गरिएको थियो । संक्रमित खेलाडीको बिहीबारको परिक्षण नतिजा पोजेटिभ आएको थियो ।
एन्फाले तत्काल सूचना जारी गर्दै एक खेलाडीको पुनः परिक्षण गरिने बताएको थियो । बिहीबार दोस्रो पटक गरिएको परिक्षणको रिपोर्ट समेत पोजेटिभ आएको हो । कोरोना पुष्टि भएका खेलाडीको नाम भने गोप्य राखिएको छ । एन्फा प्रवक्ता किरण राईका अनुसार, उनलाई पुनः तेस्रो पटक परिक्षणका लागि नीजि अस्पतालमा लग्ने तयारी गरिएको छ । हाल ती संक्रमित खेलाडी होम आइसोलेसनमा रहेको पनि उनले बताएका छन् ।
फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्न एन्फाले सबै खेलाडीको कोरोना परिक्षण गरेको थियो । एक खेलाडी बाहेक अन्य सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
एन्फाले भदौ १ गतेबाट राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारी स्वरुप सबै खेलाडीलाई उपत्यकामा बोलाएको थियो । एन्फाले खेलाडीलाई होटल तथा नीजि निवासमै राखेर कोरोना परिक्षण समेत सम्पन्न गरेको थियो । अन्तिम समयमा एसियाली फुटबल महासंघ (एएफसी)ले छनोट खेल स्थगित गरेसँगै एन्फाले समेत प्रशिक्षण अनिश्चित समयका लागि स्थगित गरेको छ । प्रशिक्षण स्थगित गरेसँगै उपत्यका बाहिरका खेलाडी घर फर्किएका छन् ।





























प्रतिक्रिया