काठमाडौं ।
नेपाल टेलिकमको नाफा १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ८ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
टेलिकमले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरको लकडाउनकोे बेलामा प्रयोगकर्ताहरुलाई निःशुल्क सुविधा दिएकोले पनि नाफा घटेको छ । टेलिकमले कोभिड १९ को महामारीको रोगथाम गर्न लगाइएको लकडाउनको अवधिमा ५३ करोड ४० लाख बराबरको शत प्रतिशत बोनस प्रदान गरेको थियो । यस्तै, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटामा छुट, ५ करोडको निःशुल्क कल सेवा उपलब्ध गराएको थियो ।
त्यस्तै, टेलिकमकोे सेवा बिक्री बापतको मुख्य आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब २९ करोड रुपैयाँले घटेर ३४ अर्ब ५७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले अन्य स्रोतबाट ६ अर्ब ९२ करोड आम्दानी गरेको छ ।
गत आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा टेलिकमले ४३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
नाफामा गिरावट आएपछि टेलिकमको प्रतिशेयर आम्दानी खुम्चिएको छ । गत आर्थिक वर्षमा टेलिकमको प्रतिशेयर आम्दानी ५७ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६५ रुपैयाँ थियो ।































प्रतिक्रिया