काठमाडौं-४ मा गगन थापाको ‘ह्याट्रिक’, होला त प्रधानमन्त्री बन्ने सपना पूरा ?

काठमाडौं-४ मा गगन थापाको ‘ह्याट्रिक’, होला त प्रधानमन्त्री बन्ने सपना पूरा ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

यसपटक प्रधानमन्त्रीको दावेदारसमेत रहेका महामन्त्री थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन् । उनले नेकपा एमालेका डा.राजन भट्टराईलाई पराजित गरेका छन् । भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । थापाको काठमाडौं–४ बाट यो चौथो जित हो । उनले निर्वाचनका बेला भोट माग्ने क्रममै आफू प्रधानमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत हुने बताउँदै आएका थिए । उनले आफू निर्वाचित भएसँगै पार्टीमा संसदीय दलको नेता छान्‍ने प्रक्रिया सुरु गर्नेसमेत बताएका छन् ।

उनी पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका थिए । त्यसपछि दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा काठमाडौं–४ बाट प्रत्यक्षतर्फ निर्वाचित भए । उनी २०७३ सालमा स्वास्थ्यमन्त्रीसमेत भए । त्यसपछि २०७४ सालको निर्वाचनमा नेकपा एमालेका डा. राजन भट्टराईलाई पराजित गरे । वाम गठबन्धनको साथ पाएका भट्टराई थापासँग पराजित बनेका थिए । २०७० सालको निर्वाचनमा थापाले २२ हजार ३३६ मतसहित नेकपा एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । 

२०४६ सालको जनआन्दोलनमा विद्यार्थी अवस्थामा राजनीतिमा होमिएका थापा २०५१ सालमा नेविसंघ त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भए । २०५३ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सचिव र २०५५ मा सभापतिमा निर्वाचित भए । २०५७ मा नेविसंघ केन्द्रीय उपाध्यक्ष र २०५९ सालमा नेविसंघको महामन्त्रीसमेत भए । २०६८ सालमा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका उनी हाल कांग्रेस महामन्त्रीको रुपमा रहेका छन् ।
 

Skip This
Skip This
Logo