बालबालिकालाई अनुशासित र स्वस्थ बनाउन के गर्ने ?

बालबालिकालाई अनुशासित र स्वस्थ बनाउन के गर्ने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बालबालिकालाई हुर्काउनु, पढाउनु, बढाउनु अभिभावकको दायित्व हो । यस अनुरुप बुवाआमाले आफ्ना सन्तानका खातिर सबै बन्दोबस्ती मिलाउने प्रयास गरेकै हुन्छन् । राम्रो खानपान, सुकिला लुगाफाटो, खेलौना, मनोरञ्जनका साधन, पढाईको व्यवस्था, स्वास्थ्य उपचार आदि कुरामा ध्यान दिइरहेका हुन्छन् । यद्यपी बालबालिकालाई व्यवहारिक र जीवन उपयोगी कुरा सिकाउने, अनुशासित जीवनशैलीमा अभ्यस्त बनाउने कुरामा भने आमाबुवाले त्यति ध्यान दिइरहेका हुँदैनन् । तर, बालबालिकाका निम्ति महत्वपूर्ण पक्ष हुन् यी । त्यसैले बालबच्चा हुर्काउने क्रममा उनीहरुलाई भौतिक सेवा सुविधाले भरिपूर्ण बनाएर मात्र पुग्दैन, उनीहरुलाई अनुशासित जीवन उपयोगी कुराहरु पनि सिकाउन आवश्यक हुन्छ ।

बच्चाहरूलाई अनुशासन सिकाउने मामला धेरै अभिभावकको लागि फलामको चिउरा चपाउनु जस्तै कठिन हुने गर्छ । विशेषगरि आजका बच्चाहरुलाई अनुशासनमा राख्नका लागि अभिभावकहरुलाई हम्मेहम्मे पर्ने गर्छ । बच्चालाई अनुशासित र स्वस्थ बनाउन मद्धत पु¥याउने उपायहरु यस्ता छन् :

बालबालिकाका लागि नियम
धेरै जोडीहरूले विवाह गरेपछि बालबालिकालाई कस्तो अनुशासन सिकाउने भन्ने बारेमा छलफल गर्दैनन् । आमाबुबा मध्ये एक धेरै नै कडा र अर्को नरम हुन्छन् । बालबालिकालाई अनुशासन सिकाउन आमाबुबाले बालबालिकाको बारेमा कुरा गर्दा एकले अर्कालाई सहयोग गर्न एउटा सम्झौतामा आउनु पर्छ । आमाबुबाहरू जो बालबालिकाको अनुशासनको विषयमा एकै ठाउँमा उभिँदैनन् उनीहरूका बालबालिकाहरूमा समस्या देखिन सक्छ । त्यसैले यसका लागि एउटा नियम बनाउन आवश्यक पर्छ ।

बच्चालाई खेलाउँदै नयाँ कुरा सिकाउने
बच्चाहरु खेलप्रति बढी आशक्त हुन्छन् । उनीहरुलाई खेलैखेलमा नयाँ कुरा सिकाउन सकिन्छ । यसको लागि उनीहरुले घरमा फ्याँकेका सामान मिलाउनका लागि पनि खेलमा जस्तै गरेर सिकाउन सकिन्छ । यसले उनीहरुलाई कहिल्यै पनि नबिर्सने गरि काम सिक्न सघाउँछ ।

बच्चाहरुले कुनै पनि सामानलाई यहाँ वा त्यहाँ फ्याँकिरहेका हुन्छन् भने उनीहरुलाई खेलकै माध्यमबाट चीजलाई मिलाएर राख्न सिकाउनु पर्छ । एउटा समय अवधि राखेर त्यस्ता चीजहरू व्यवस्थित राख्न दिने र समयमै काम सकिसकेपछि पुरस्कार दिने बानी बसाल्ने गर्नाले उनीहरूमा आफ्नो काम आफैँले गर्न हौसला दिन्छ ।

मीठो भाषाको प्रयोग
केही काम अह्राउनु पर्दा बालबालिकाले नमानेमा तीनसम्म गनेर त्यति समयभित्र गर्न भन्नु पनि एउटा राम्रो तरिका हो । बालबालिकाले तीनसम्म गन्ने कुरालाई परीक्षण गर्छन् त्यस्तो बेलामा समयसीमा कटेमा पनि अडिग भएर थप काम दिएमा उनीहरूले मान्न थाल्छन् । यसले उनीहरुले आमाबुबाले भनेको काम गर्नुपर्छ भन्ने कुरा बुझ्छन् । यस्तै ठूला मान्छेहरुले जे बोल्यो जे गर्यो बच्चाहरुले त्यही सिक्ने भएकोले शिष्ट भाषाको मात्र प्रयोग गर्नु पर्छ ।

बालबालिकाले गल्ती गरेमा सजायँस्वरुप केही काम गर्न लगाउने

बालबालिकाले केही नराम्रो व्यवहारको सजायँस्वरूप घरमा सघाउने खालका काम दिन सकिन्छ । बालबालिकाहरूले कुनै नियम तोडे भने सजायँका लागि उनीहरूलाई निराश बनाउनु हुदैन । केही काम बिगारेबापत घरको केही सहयोगी काममा लगाइदिँदा उनीहरू खुसी हुन्छन् ।

गर्न नसक्ने कुनै पनि कुराको चेतावनी नदिने
आमाबुबाले रिसको झोँकमा आफ्ना बालबालिकालाई विभिन्न चेतावनीहरू दिन्छन् त्यसले झनै समस्या निम्त्याउँछ । अझै लागू नै गर्न नसकिने खालको अव्यवहारिक चेतावनी दिएमा उनीहरू झन् अटेरी हुन्छन् र यसले बच्चाहरुमा नकारात्मक असर पर्छ ।

बच्चाहरूले धेरै झगडा गरेमा माया गर्ने
बच्चाहरूले अभिभावकसँग नाटक गर्ने गर्छन् भने तिनीहरू मानसिक रूपमा अस्वस्थ छन् भनेर बुझ्दा हुन्छ । यस्तो अवस्थामा तिनीहरू कि त धेरै रिसाउँछन् वा धेरै दुःखी हुन्छन् । त्यस्तो बेलामा तिनीहरूलाई हप्काउनु ठीक हुँदैन । यस्तो अवस्थामा मानसिकरुपमा समेत समाधान गर्ने खालको उपचारविधि अपनाउनु पर्छ ।

तिनीहरूको भावनात्मक उतार चढावमा प्रेमले सन्तुलन राख्ने काम गर्छ । बच्चाहरु खानाखाने बेलामा धेरै नाटक गर्छन् भने उनीहरुलाई ‘वन बाइट रुल’ नियम लागू गर्न सकिन्छ । सामान्यतया बच्चाहरूले खाना खान सुरु गर्नु अघि नाटक गर्न थाल्छन् । उनीहरूलाई माया गरेर खाना खुवाउन सकिन्छ । यदि बच्चालाई कुनै खान मन गरेन भने उसलाई नयाँ खानाको स्वाद चखाउन सकिन्छ । यस तरिकालाई अपनाउनका लागि केही राम्रो व्यवहार समेत गर्न सकिन्छ ।

सबैलाई सम्मान गर्न सिकाउने
प्रायः जसो बच्चाहरूले आफूभन्दा साना बच्चाहरूलाई वा उनीहरूको कुरा सुन्नेलाई आफ्नो अधीनमा राख्न खोज्छन् । यस्तो अवस्थामा बच्चाको सशक्तीकरणका लागि उनीहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न दिए पनि आफूभन्दा साना बच्चासँग त्यस्तो व्यवहार देखाएको बेलामा भने उनीहरुलाई स्वतन्त्र छाड्नु हुन्न । यस्तो बेलामा बच्चालाई आफ्नो सहायक काममा राखेर धेरै सम्मान दिन सकियो भने उसले पनि आफूभन्दा सानालाई सम्मान दिनुपर्छ भन्ने सिक्ने गर्छ । यसरी सहायक बनाएर दिने काम सकेसम्म उनीहरुले सजिलै गर्न नसक्ने काम दिनुपर्छ । यस्तो अवस्थामा तिनीहरू लगनशीलताका साथ त्यो काम गर्नमा व्यस्त हुनेछन् । यस्तो जिम्मेवारीले उनीहरूलाई राम्रो व्यवहारयुक्त बनाउन सक्छ ।

बच्चाहरुलाई जबरजस्ती अध्ययन गराउनु हुँदैन
धेरै बच्चाहरू होमवर्क गर्न र पढ्न भनेपछि भाग्छन् । यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई जबरजस्ती पढाउन राख्छन् । धेरैचोटि बच्चाहरू कुनै न कुनै बहानामा भाग्न खोज्छन् तर जबरजस्ती ल्याएर पढाउन खोजिन्छ भने त्यसबाट उपलब्धि शून्य हुन पुग्छ । धेरै आमाबाबुले उनीहरूलाई राम्रो बच्चाहरूसँग तुलना गरेर प्रोत्साहन गर्न पनि चाहन्छन् जसले बच्चाहरूलाई अझ बढी चिढ्याउने काम गर्छ । बच्चालाई यसरी जबरजस्ती अध्ययन गराउन लगाउनुभन्दा उनीहरुको अध्ययनमा रुचि जगाउने वातावरण निम्त्याउनु पर्छ ।

बच्चालाई नियमित शारीरिक अभ्यासको आवश्यकता
व्यायाम हरेक व्यक्तिलाई फिट राख्नका लागि एक उत्तम विकल्प हो, जसको मद्दतले हामी धेरै रोगहरूबाट बच्न सक्छौं । बच्चाहरुले निरन्तर अभ्यासमा आलस्यता देखाउँदा उनीहरुमा मोटोपना जस्ता समस्याहरु सिर्जना हुने गर्छन् । सधैं फिट रहनका लागि बच्चाहरूलाई पनि व्यायाम, शारीरिक गतिविधि वा खेल जस्ता अतिरिक्त अभ्यासहरुमा संलग्न गराउनै पर्छ । ताकि आफ्ना बच्चाहरूले पनि आफ्नो शारीरिक स्वच्छता र तन्दुरुस्तीको बारेमा सानो उमेरदेखि नै महत्व बुझून् ।

नियमित गरिने अभ्यासले लामो समयसम्मका लागि स्वस्थ रहन र धेरै रोगहरूको खतराबाट मुक्त गराउन मद्धत गर्छ । यसबाहेक बच्चाहरू जो व्यायामबाट सधैं टाढा हुन्छन्, उनीहरु अरूभन्दा मोटोपनाको बढी जोखिममा हुन्छन् । जब बच्चाहरू व्यायाम लगायत शारीरिक गतिविधिबाट टाढा रहन्छन्, त्यसको पहिलो प्रभाव उनीहरूको तौलमा देखिन्छ । व्यायामको अभावले मोटोपना वा वजनमा असरमात्र गर्दैन, यसले समग्र स्वास्थ्यलाई पनि प्रभाव पारिरहेको हुन्छ ।

बच्चालाई व्यायाम किन ?
हड्डी र मांसपेशी मजबुत गराउन
बच्चाहरूको लागि नियमित व्यायाम जरुरी हुन्छ, यसले हड्डी र मांसपेशीलाई बलियो बनाउन सहयोगी भूमिका खेल्छ । खानामा सुधार गरेरमात्रै हामीले बच्चाहरूको हड्डी र मांसपेशीलाई बलियो बनाउन सक्दैनौं यसका लागि स्वस्थ आहारका साथ व्यायाम र शारीरिक गतिविधि पनि बच्चाको शारीरिक विकासको लागि आवश्यक छ ।

अन्य रोगहरूको खतरा
व्यायाम र शारीरिक गतिविधिहरूले धेरै गम्भीर रोगहरू हटाउने काम गर्छ । जसका कारणले बच्चा लामो समयसम्म स्वस्थ रहन सक्छ । नियमित व्यायामले मुटु रोग, मधुमेह, मोटोपना, क्यान्सर र अन्य रोगहरूको जोखिम कम गर्छ । यस्तै व्यायामले बच्चालाई शारीरिक स्वास्थ्य एवं मानसिक स्वास्थ्यको लागि समेत मद्धत गर्छ ।

जंकफुड होइन, यी खानेकुरा जरुरी छ बच्चाको लागि
बालबच्चालाई खुशी बनाउन होस् वा रोएको बखत फकाई–फुल्याई गर्न, धेरैजसो आमाबुवाले चिप्स, चिजबल, कुरकुरे, चाउचाउ, चकलेट, बिस्कुट आदि दिने गर्छन् । सामान्यतः हामीले देख्दै भोग्दै आएका छौं, जंकफूड दिएपछि बच्चा जति खुशी हुन्छन् स्याउ वा यस्ता अन्य खानेकुराबाट त्यती खुशी हुँदैनन् । किनभने हामीले उनीहरुको खानपानको संस्कार नै बिगारेका छौं । जंकफूड आफैंमा स्वस्थ्यकर खानेकुरा होइनन् । यसको सेवनले उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्छ । त्यसैले बच्चालाई स्वस्थ्यकर खानेकुरामा बानी पार्न जरुरी छ । गाईको दुध, केरा, स्याउ, सुन्तला, सखरखण्ड, आलु जस्ता खानेकुरा उनीहरुका लागि जरुरत हुन्छ । बच्चालाई शरीरमा अत्याधिक तागत दिने किसिमका खाना खान दिनु पर्छ । तर धेरै क्यालोरी भएको खाना दिनु हुन्न, त्यस्ता खानाले शरीरमा बोसो बढाउने काम गर्छ भने आवश्यकता अनुरुप तागत भने दिदैन । धेरै क्यालोरी भएका खानाले बच्चालाई नोक्सान पुर्याउनुका साथै बच्चाको खाने बानी पनि बिगार्ने काम गर्छ ।

केरामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी प्रचुर मात्रामा हुन्छ । जसको आवश्यकता बच्चालाई स्वस्थ्य रहनका लागि हुन्छ । यस्तै आरुमा अत्याधिक मात्रा फाइबर, भिटामिन ए र भिटामिन सी पाइन्छ । बच्चालाई आरु मन पर्दैन भने आरुको जुस बनाएर खाना दिन सकिन्छ ।

बच्चाको लागि नासपाती उपयुक्त पोषक तत्व भएको फल मानिन्छ । नास्पातीमा फाइबर, आइरन, भिटामिन बी र भिटामिन सी अत्याधिक मात्रामा पाइन्छ । यस्तै मटरलाई पनि बच्चाको खानाको रुपमा एक उपयोगी र राम्रो स्रोतको रुपमा लिन सकिन्छ । मटरमा फाइबर, भिटामिन सी, म्याग्नेसियम, फस्फोरस, भिटामिन ए र बी पाइन्छ । जुन बच्चाको शारीरिक विकासको लागि अति आवश्यक हुन्छ ।

सखरखण्डमा फाइबर, म्याग्नेसियम, भिटामिन बी, भिटामिन ए, भिटामिन सी आदि पोषक तत्व अत्याधिक मात्रामा उपलब्ध हुन्छ । त्यसैले बच्चालाई ६ महिना भएपछि सखरखण्ड प्रथम आहारको रुपमा दिन सकिन्छ । यस्तै एवोकाडोमा धेरै मात्रामा फाइबर हुनुको साथै यसमा चिल्लोको मात्रा पनि कम हुन्छ । यसलाई ब्रेड अथवा रोटीमा हालेर पनि खान दिन सकिन्छ ।

आलु नरम हुने भएकोले यसलाई सजिलै मिचेर खुवाउन सकिन्छ । आलुमा खनिज भिटामिन बाहेक केरोटेनोयड्स र प्राकृतिक फिनोयल जस्ता रसायन पनि हुन्छ । यस्तै, बच्चालाई अण्डा सजिलै दिन सकिन्छ । अण्डालाई उमालेर, फ्राई गरेर खान दिन सकिन्छ । यसबाहेक खानामा पनि अण्डाको समावेश गर्न सकिन्छ ।

त्यस्तै बच्चाको लागि घ्यू अति नै आवश्यक हुन्छ । बच्चा ८ महिना पुगेपछि घ्यू उसको खानामा कम मात्रामा दिन सकिन्छ । बढि मात्रामा घ्यूको सेवनले पाचन प्रक्रियालाई नकारात्मक प्रभाव पार्न सक्छ ।

Skip This
Skip This
Logo