प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका राप्रपाका दीपकबहादुर सिंहले मकवानपुर १ मात्र नभएर सिङ्गो जिल्लाकै विकासका लागि भूमिका निर्वाह गर्ने बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार निर्मूल गर्ने रहेको बताए ।
पक्षपात नगरी आवश्यकता अनुसार योजना पार्ने र क्षेत्रको विकास गर्नु पनि आफ्नो अर्को प्राथमिकता रहेको उनले बताए । आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म पनि राष्ट्रका लागि समर्पित रहने भन्दै उनले राष्ट्रमाथि गद्दारी हुन नदिने प्रतिवद्धतासमेत जनाए ।
आफू नियम, कानुन बनाउने ठाउँमा जान लागेको भन्दै उनले देशको नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । उनले मकवानपुरबाट पटक–पटक जितेका जनप्रतिनिधिहरूले जिल्लाका दुर्गम भेगलाई बेवास्ता गरेको उल्लेख गर्दै आफूले समग्र जिल्लाकै विकासका लागि भूमिका निर्वाह गर्ने प्रस्ट पारे ।
उनले भनेका छन्, ‘जिल्लाको विकास, राष्ट्रको हितका लागि जनतासँग मेरो मन र मुटु मिल्यो ।’ आफ्नो लागि कांग्रेस, राप्रपा, माओवादी वा कुनै पनि पार्टीमा नभएकाहरु पनि समान रहेको उल्लेख गर्दै सिंहले आफू सबैको ‘माननीय’ बन्न चाहेको प्रस्ट पारे ।
उनले आफूलाई मत दिने र नदिने सबैको जय होस् भन्ने सिद्धान्तका साथ आफू अघि बढ्ने बताएका छन् ।





























प्रतिक्रिया