श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् ।
आईतवार नेपाल एफएम नेटवर्कको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन् । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए ।
मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढीरहेको भन्दै नेपाली श्रमीकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए ।
उनले भने- ‘गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ, नेपाली श्रमीकहरु छैनन् । हाम्रा श्रमीकहरुलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने ? यस बारेमा सोच्नुपर्छ । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएका छन् । भिजिट र लुकेर गएकाको संख्या कति हो यकिन छैन । हामी भिजिट भिसा नलिनुस् भन्दैछौँ, नेपालको श्रम ऐनले भिजिट भिसा लिएर गएकाहरुलाई केही पनि सुविधा दिँदैन । श्रम स्वीकृति लिएकोलाई मात्रै बीमाको सुविधा छ, अरु अरु सुविधा छ । यो कुरालाई सञ्चारमाध्यमले ल्याउनुपर्छ । यस्ता कुराको नियन्त्रण गिरोहले गर्ने हो । अध्यागमनले हो, त्यो भइरहेको छैन । त्यसैले कहाँ कहाँ कमजोरी भएका छन्, कहाँ समस्या छन्, सञ्चारमाध्यम त्यहाँ पुग्नुपर्छ । भिजिट भिसाबाट जानेहरुको नियन्त्रण गर्न नै गाह्रो छ । श्रमसँग मिडिया जोडिनु आवश्यक छ । ३ वर्षको डेटा लिने हो भने ४६ लाख नेपाली नागरिकहरु विदेशमा जानुभएको छ । परिवारका सदस्यको त हिसाव नै छैन । झन्डै नेपालको आधा जनसंख्या विदेशी श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’
मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी उनले गरे ।































प्रतिक्रिया