संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् ।
बुधवार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाएका हुन् । उनले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनको लागि लगानी गरेको संस्था आन्तरिक तथा आन्तरिक उडानमा थला परेको बताए ।
मन्त्री श्रेष्ठले वायुसेवा निगमको नेतृत्वले म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्नु देशको लागि दुर्भाग्य हुने बताए । प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको उनले बताए ।
उनले भने- ‘जनताको लगानी भएको संस्थाबाट जनताले नै सेवा नपाउनु देशको समस्या हो। अयोग्य व्यक्तिका कारण जनताले सेवा लिन सकेका छैनन् । अनि यस्तै नेतृत्व निरन्तरताका लागि अदालतबाट स्टे आउँछ । म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्न पाइँदैन । यो बिडम्बना हो । देशकै लागि दुर्भाग्यको कुरा हो । प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको छ । सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलव खुवाएर राख्नैपर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको छ । निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हास्यास्पद हो । संसार ठप्प भएको बेला कहाँबाट आम्दानी हुन्छ । कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक हो । तर जुन स्रोतसाधनमा गरेको लगानी उठेको छ कि छैन महत्वपूर्ण कुरा हो । हिजो भन्दा आज आम्दानी गरेँ भनेर तर्क पेस गर्नु हास्यास्पद हो।’
मन्त्री श्रेष्ठले नेपालको आकाश हवाई उडान सुरक्षित रहेको बताए । उनले अन्तर्राष्ट्रिय निकायहरुले हवाई सुरक्षाका विषयमा प्रश्न उठाउनुपर्ने अवस्था नभएको भन्दै प्राधिकरणले अझ सुरक्षालाई व्यवस्थित बनाउने काम गरीरहेको बताए ।
नेपालको हवाई उडान आइकाओको कालोसूचीबाट हट्ने अवस्थामा पुगेको मन्त्री श्रेष्ठले ए । आइकाओले नेपालको नीति,प्राधिकरण हवाई सुरक्षाको लागि कामका आधारमा चाँडै कालो सूचीबाट हट्ने उनले विश्वास व्यक्त गरे ।































प्रतिक्रिया