मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण हुने

मेलम्चीको पानी आजदेखि उपत्यकामा वितरण हुने

केन्द्रबिन्दु
3
Shares

मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा आजदेखि पानी वितरण हुँदै छ । 

उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा आजदेखि औपचारिक रुपमा घर–घरमा पानी पठाइने आयोजनाले जनाएको छ । सबै स्थानमा एकै पटक पानी नपठाइने भन्दै साताभित्र सबै धारामा सहज रुपमा पानी वितरण गरिने मेलम्ची आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले बताए । 

उनका अनुसार गत १८ गते काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा झरेको पानी वितरण गर्न लागिएको हो । प्रशोधित पानी विहीबार बेलुकी महांकालस्थित रिजर्भ ट्यांकीमा पठाइएको छ ।  सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानमा गत जेठमा बन्द गरिएको सुरुङको मुखबाट ११ दिनअघि मेलम्ची खोलाको पानी प्रवेश गराइएको थियो । बाढीले मुहान क्षति गर्ने सम्भावनाका कारण सुरुङको मुख बन्द गरिएको थियो । 

सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता रहेको छ । पानी वितरणको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गर्नेछ । उपत्यकाको आरुबारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जे लगायत स्थानमा पानीको रिजर्भ गरेर वितरण गर्ने संरचना रहेको छ । २०७८ असारको बाढीले क्षतिग्रस्त भएको मेलम्चीको हेडवक्र्सलाई अस्थायी रुपमा व्यवस्थापन गरेर पानी ल्याइएको हो । 

Logo