अफगानिस्तानमा महिलामाथिको प्रतिबन्धका कारण केही महत्वपूर्ण कार्य रोकिए

अफगानिस्तानमा महिलामाथिको प्रतिबन्धका कारण केही महत्वपूर्ण कार्य रोकिए

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्र संघले अफगानिस्तानमा केही ‘समय–महत्वपूर्ण’ कार्यक्रमहरू अस्थायी रूपमा रोकिएका र महिला सहायताकर्मीहरूमा लगाइएको प्रतिबन्धका कारण अन्य धेरै गतिविधिहरू पनि रोक्न आवश्यक हुन सक्ने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघका सहायता प्रमुख मार्टिन ग्रिफिथ्स, संयुक्त राष्ट्र संघीय निकायहरुका प्रमुखहरू र धेरै सहायता समूहहरूले एक संयुक्त वक्तव्यमा सहायता वितरणमा महिलाहरूको सहभागिता वार्तायोग्य नभएको बताएका छन् । उनीहरुले अधिकारीहरूलाई निर्णय उल्टाउन आह्वान गर्दै वितरणलाई जारी राख्नुपर्ने पनि उल्लेख गरेका छन् । महिलाहरूलाई मानवीय कार्यमा प्रतिबन्ध लगाउनुले सबै अफगानीहरूको लागि तत्काल जीवनलाई जोखिम पार्ने परिणामहरू आउने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ,‘महिला कर्मचारी नहुँदा केही समयका लागि महत्वपूर्ण कार्यक्रमहरु अस्थायी रुपमा रोकिनु परेको छ ।’

यसअघि अफगानिस्तानमा महिलालाई लक्षित गर्ने आफ्ना नीतिहरू तुरुन्तै खारेज गर्न राष्ट्रसंघले तालिबानसँग माग गरेको थियो । महिला र केटीहरूमाथि लगाइएका प्रतिबन्धहरूले सबै अफगानिस्तानको पीडा बढाउनुका अतिरिक्त अफगानिस्तानको सिमानाबाहिर पनि खतरा निम्त्याउने डर भएको राष्ट्रसंघले उल्लेख गर्दै आएको छ । शनिबार अफगानिस्तानका कट्टरपन्थी इस्लामवादी शासकहरूले महिलाहरूलाई गैर–सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको घोषणा गरेका थिए । यसअघि तालिबानले  महिलाहरूको लागि विश्वविद्यालय शिक्षा र केटीहरूको लागि माध्यमिक शिक्षा निलम्बन गरेको थियो ।
 

Logo