सम्मानजनक शक्ति बाँडफाँट भए मात्र सरकारमा जाने जसपाको निर्णय

सम्मानजनक शक्ति बाँडफाँट भए मात्र सरकारमा जाने जसपाको निर्णय

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रम हेरेर मात्र सत्तामा जाने÷नजाने निर्णय गर्ने भएको छ।

सोमबार र मंगलबार बसेको पार्टीको राजनीतिक समिति बैठकले बिनासर्त सरकारमा सहभागी नहुने निर्णय गरेको हो। जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सरकारको नीति तथा कार्यक्रम एवं सम्मानजनक शक्ति बाँडफाँट भए मात्र सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय भएको छ। स्रोतका अनुसार जसपाले ३ मन्त्रालय र उपराष्ट्रपतिमा दाबी गरेको छ।

त्यसैगरी बैठकले अन्य राजनीतिक दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता मनिस सुमनले जानकारी दिए।त्यस्तै आजको बैठकले माघ मसान्तभित्र पार्टीले आफ्ना सबै निष्क्रिय संगठनहरुलाई क्रियाशिल बनाउने निर्णयसमेत गरेको छ। गत निर्वाचनमा अन्तर्घात गर्नेहरुलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रिय समिति सदस्यहरुले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यहरुमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन्।

जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रिय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ। जसको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशिला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दिपक राई, पञ्चलाल महर्जन, विरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको प्रवक्ता सुमनले जानकारी दिए।

Logo