पश्चिम नवलपरासीको लुम्बिनी चिनी मिल सुनवलमा स्थानीयले तालाबन्दी गरेका छन् ।
उद्योग परिसरमा प्रदूषण बढेर स्थानीयलाई असर गरेको र प्रदूषण नियन्त्रणमा उद्योग प्रशासनले चासो नदिएको भन्दै स्थानीयले मूल गेटमा तालाबन्दी गरेका हुन् । पुरानो प्रविधिको उद्योग भएको र उखु क्रसिङ गर्दा खरानीसहितको कालो धुलोका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । स्थानीयहरूले पटक–पटक उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् ।
समस्या समाधान नभएसम्म उद्योग नचलाउन स्थानीयले उद्योग प्रशासनलाई चेतावनी दिएका छन् । धुलोले बालीनाली र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको भन्दै मंगलबार दिउसो स्थानीयहरूको एक समूहले उद्योगमा तालाबन्दी गरी समस्या समाधान नभएसम्म उद्योग नचलाउन चेतावनी दिएको स्थानीय जीवन पौडेलले जानकारी दिए ।
यता, उद्योगका प्रशासन प्रमुख कुश सुवेदस्ले आफूहरुले प्रदूषण नियन्त्रणका लागि उपकरण खरिद प्रक्रिया सुरु गरेको बताउँदै केही दिनभित्रै समस्या समाधान हुने उल्लेख गरे । उद्योगले केही दिनअघिदेखि उखु क्रसिङ्ग सुरु गरेपछि प्रदूषण फैलिएको थियो । वर्षौंदेखि स्थानीयले प्रदूषण न्यूनीकरणका लागि आग्रह गर्दा पनि उद्योग प्रशासनले विभिन्न बाहना बनाउँदै आएको छ ।





























प्रतिक्रिया