मुख्यमन्त्री र सभामुखको भागबन्डामा गठबन्धनमा जुट्यो सहमति, कुन पार्टीलाई कुन प्रदेश ?

मुख्यमन्त्री र सभामुखको भागबन्डामा गठबन्धनमा जुट्यो सहमति, कुन पार्टीलाई कुन प्रदेश ?

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा प्रदेशको नेतृत्वको भागबन्डामा सहमति जुटेको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले सहमति जुटाएको हो ।

सहमतिअनुसार एमाले ४, मा‌ओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्नेछन् । वाग्मतीमा पहिलो कार्यकाल माओवादीले नेतृत्व गर्नेछ भने दोस्रो कार्यकाल एमालेले नेतृत्व गर्नेछ । सुदूरपश्चिममा पहिलो कार्यकाल एमालेले चलाउँदा दोस्रो कार्यकाल माओवादीले चलाउनेछ । 

तर, प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा भने आलोपालो हुने छैन । गण्डकी र लुम्बिनीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्नेछ भने कर्णालीमा पूरै कार्यकाल माओवादीले नेतृत्व गर्नेछ । प्रदेश १ को मुख्यमन्त्री एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

साथै बैठकले सभामुख र उपसभामुखको भागवण्डा पनि टुंग्याएको छ । प्रदेश १ मा माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुख लिनेछ । मधेश प्रदेशमा सभामुख एमाले र उपसभामुख जनमतले पाउनेछ । बागमती प्रदेशमा राप्रपाले सभामुख र एमालेले उपसभामुख लिनेछ । गण्डकी प्रदेशमा सभामुख माओवादी र उपसभामुख एमालेले लिनेछ । लुम्बिनी प्रदेशमा माओवादीले सभामुख र राप्रपाले उपसभामुख पाउने भएको छ । कर्णाली प्रदेशमा एमालेले सभामुख र माओवादी केन्द्रले उपसभामुख लिनेछ भने सुदूरपश्चिम प्रदेशमा माओवादीले सभामुख पाउनेछ भने नागरिक उन्मुक्ति पार्टीलाई उपसभामुख लिन प्रस्ताव गरिएको छ । 

आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए।

Logo