सांसदहरुले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।
बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले कुटनीति जानेको व्यक्ति राजदुतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरुले राजदूत नियुक्ति गर्दा आफन्तहरु छान्नु नहुने धारणा राखे ।
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरुको निधन हुँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरिन् । उनले वैदेशिक रोजगारीमा गएको समस्या छिटो र छरितो ढंगबाट गर्न आग्रह गरिन् ।
त्यस्तै, बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने बताए । उनले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्याहरु रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिए । एउटा सरकारले गरेका निर्णयहरु अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरुमा समस्या हुने गरेको उनले बताए ।
नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताइन् । उनले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीहरुको पूर्णता दिइ कामहरुमा छिटो र छरितो बनाउनुपर्ने बताइन् ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लगानी गर्न उद्यमीहरु उत्साहित नदेखिएको भन्दै उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरिन् । उनले विदेशी लगानी भित्र्याउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्ने बताइन् । नेपालसँग आयात मात्रै गर्ने तर निर्यात गर्ने कुरा केही नरहेको भन्दै उत्पादन बढाउने कुरामा ध्यान दिन जरुरी रहेको उनले बताइन् ।
उनले विदेशमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन ढिलाइ भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराइन् ।
त्यस्तै, लोकतान्त्रिक समाजावदी पार्टी, नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भुमिका खेल्नुपर्ने बताए । उनले ४५ वर्ष अगाडि स्थापना गरिएका दुतावासहरुमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गरे ।
बैठकमा नेकपा एमालेका सांसद रामचन्द्र राईले अझैपनि नीतिगत व्यवस्थामा भएका कुराहरुको कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताए । उनले अन्तरमन्त्रालयको समन्वय पर्याप्त हुन नसकेको बताए । नीतिले भनेअनुसारको कुटनीतिक सम्बन्ध स्थापना गर्न नसक्दा विदेशी मुलुकसँग नेपालको सम्बन्ध बिस्तार हुन नसकेको उनले बताए ।
उनले नेपालमा रहेका विदेशी राजदुतहरुले नेपालका राष्ट्रपति प्रधानमन्त्रीसँग सिधा सम्पर्क स्थापना गर्न सक्ने भएपनि नेपाली राजदुतहरु भने सिधा सम्बन्ध बिस्तार गर्नसक्ने स्थितिमा नहुनु राम्रो नभएको बताए ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले वैधानिक रुपमा वैदेशिक रोजगारीमा जानेहरुको समस्या खासै नरहेको भएपनि अवैधानिक रुपमा जाने नेपालीहरु भने धेरै समस्यामा पर्ने गरेको बताए । उनले उनीहरुको उद्धार गर्नेकुरा चुनौतिको विषय बनेको बताए । फरक प्रसंगमा उनले नेपालमा राहदानी लिनका लागि सर्भरको क्षमता विकास गर्नु जरुरी रहेकासमेत बताए ।
बैठकमा नेकपा एमालेका सांसद सोनाम गोल्जेन शेर्पाले नेपालको परराष्ट्र कुटनीति धेरै नै कमजोर रहेको बताए । उनले राजदुत नियुक्ति गर्दा कुटनीति जानेका व्यक्ति नभइ राजनीतिक दलहरुले आफन्तहरुलाई स्थान दिँदा परराष्ट्र सम्बन्धमा दरार पैदा भएको बताए । कस्तो व्यक्तिलाई राजदुत नियुक्त गर्ने भन्नेबारेमा स्पष्ट कानून बनाउनुपर्ने माग उनले गरे ।
सांसद शेर्पाले हरेक दुर्गम जिल्लामा इलाका प्रशासन कार्यालयमा अख्तियार प्रतियोजन गरी राहदानी उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न आग्रह गरे ।































प्रतिक्रिया