राष्ट्रिय सभा सांसदहरुले आफूहरु मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन् ।
बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै सांसदहरुले राष्ट्रिय सभा सदस्यको राज्यले दिएको र स्वयम व्यक्तिगत रुपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरुले पार्टीभित्र प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे । उनीहरुले राष्ट्रिय सभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमा समेत प्रतिनिधि सभा सदस्य भन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए ।
राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसद जस्तो हुने गरेको बताए । उनले राज्यले दिएको मर्यादा र स्वयं व्यक्तिले पाउने मर्यादा समेत नपाएको गुनासो गरे । विभिन्न कार्यक्रममा समेत प्रतिनिधि सभा सांसदलाई पहिला र राष्ट्रिय सभा सांसदलाई पछि बोलाउने गरेको उनले बताए ।
अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी रुपमा कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुपर्ने बताए । उनले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी हुनुपर्ने बताए । समितिले थोरै काम र निर्देशन गरी परिणाम ल्याउँदा मात्रै राम्रो हुने अन्यथा छलफलमा मात्रै सिमित हुने उनले बताए ।
सांसद विमला घिमिरेले राष्ट्रिय सभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादा क्रम सच्याउनुपर्ने बताइन् । उनले माथिल्लो सदनको सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधि सभा सांसदलाई माथि राख्न नमिल्ने बताइन् ।
सांसद कमलादेवी पन्तले प्रतिनिधि सभा नचल्ने बित्तिकै राष्ट्रिय सभा नचल्ने अवस्था भएर राष्ट्रिय सभाको औचित्य नभएको महशुस भएको बताइन् । उनले राष्ट्रिय सभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने बताइन् । प्रतिनिधि सभा नचल्दा राष्ट्रिय सभा पनि नचल्ने यकिन हुनुपर्ने उनले बताइन् । उनले राष्ट्रिय सभा निरिह सभा जस्तो भएको बताइन् ।
सांसद शारदादेवी भट्टले राष्ट्रिय सभाका सांसदले कुनै अधिकार नपाएको बताइन् । उनले राष्ट्रिय सभामा बोलेका र समितिमा छलफल भएका कुनैपनि विषय कतै कार्यान्वयनमा नआएको बताइन् । राष्ट्रिय सभाका सांसदले संसदमा बोल्ने काम मात्रै भएको उनले बताइन् ।
त्यस्तै सांसद सिंगबहादुर विश्वकर्माले प्रतिनिधि सभाका सांसद बौद्धिक रुपमा माथि भएपनि राष्ट्रिय सभा सदस्य नै उनीहरु भन्दा माथि हुने बताए । उनले राष्ट्रिय सभाका सदस्यको हैसियत वडा सदस्य जतिको समेत नभएको बताए ।































प्रतिक्रिया