माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेवा प्रवाहमा टाइम कार्ड लगाउने कुरा, अनुगमनमा जाँदा दिएका निर्देशन दिएका कुरा कार्यान्वयनमा लैजाने बेला आएको बताएका छन् । शनिवार सरकारी निवास बालुवाटारमा अनलाइन मिडियाका सम्पादकहरुसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सेवा प्रवाह दिएर परिवर्तन दिने योजनामा रहेको बताए । उनले छिट्टै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा लागिपरेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारलाई पूर्णता दिन अप्ठेरो भएको हैन, ७ पार्टीसँग छलफल गर्न समय लागेको हो त्यहाँ विवाद भएको हैन । सोमबार पूर्ण मन्त्रीपरिषदको बैठक बस्ने तयारी छ । आज बिहान पनि एमाले अध्यक्ष ओलीसँग मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति नजिक पुगेका छौँ ।’
अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मुद्धाहरुलाई सहमतिमा लिएर जान सकियो भने ऐतिहासिक सफलता हुने प्रचण्डले विश्वास ब्यक्त गरे । माघ ३ गतेपछिबाट धेरै कुरामा प्रगति हुँदै जाने उनले बताए । उनले आफ्नो कार्यकालमा उद्घाटनमा कम समय दिनपाए हुन्थ्यो भन्ने चाहना ब्यक्त गरे । प्रधानमन्त्रीले भने– ‘मान्छेहरुले दवाव नदिने हो भने उद्घाटन गर्न जान्न, उद्घाटन गर्न गइदिनुपर्यो भनेर धर्ना नै दिएपछि बाध्य भएर जानुपर्ने हुन्छ । राती उद्घाटन गर्ने भनेर पनि तपाइँहरुले सुझाव दिनुभयो, यहीँबाट उद्घाटन गर्ने डिजिटल रुपमा भन्ने सुझाव पनि दिनुभयो त्यस्तो कुनै वैकल्पिक तरिका हुन्छ कि त्यसबारेमा पनि सोच्छु । उद्घाटन नगर्नु नै मलाई ठीक लागेको छ । दैनिक उद्घाटनमा गएर समय नष्ट गर्नुभन्दा यहीँ बसेर काम गर्न पाए धेरै काम गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको हो ।’































प्रतिक्रिया