प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीमण्डल विस्तार भएको छ । सरकार गठन भएको करिव ३ सातापछि मात्र मन्त्रिमण्डल विस्तार भएको हो । नवनियुक्त मन्त्रीहरुले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन ।
विस्तारित मन्त्रिपरिषदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् । उनले उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन् । यसैगरी, संचार तथा सूचना प्रविधिमन्त्रीमा माओवादी नेत्रृ रेखा शर्मा नियुक्त भएकी छिन् । माओवादीकै अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माओवादीका सुदन किराँती संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका छन्।
यसैगरी, नेकपा एमालेबाट डा. विमला राई पौडेलले परराष्ट्र,पदम गिरीले स्वास्थ्य तथा जनसंख्या,भगवती चौधरीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक र हरि उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसैगरी एमालेकै ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास मन्त्री बनेकी छिन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी ध्रुबबहादुर प्रधानले पाएका छन् । राप्रपाका दीपकबहादुर सिंहले उर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
संसदमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी,रास्वपाबाट डोलप्रसाद अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिशिर खनाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी दिइएको छ । यसैगरी, रास्वपाकैडाक्टर तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेकी छिन् ।जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री बनेका छन्।
यसअघि गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्तभएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । सोहीदिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
एमालेका चार र जनमत पार्टीका अब्दुल खानले पनि सोही दिन मन्त्री पदको शपथ लिएका थिए । एमालेका दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् । एमालेकै राजेन्द्र राईले भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेका छन् ।
प्रचण्ड मन्त्रीमण्डलका २३ जनामध्ये १५ जना नयाँ अनुहार हुन् । प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ पूराना अनुहार हुन् भने दुई उपप्रधानमन्त्री रवि लामिछाने र राजेन्द्र लिङदेन नयाँ सदस्य हुन् । त्यसैगरी माओवादी मन्त्रीहरूमा रेखा शर्माबाहेक अरू नयाँ हुन् ।
एमालेले पनि दामोदर भण्डारी,ज्वाला कुमारी साह र भगवती चौधरीबाहेक अरू नयाँ सदस्यहरुलाई सरकारमा पठाएको छ ।
सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन/तीनवटा मन्त्रालय पाउँदा जसपाका लागि २ मन्त्रालय छुट्याइएको छ । जसपाले २ वटा मन्त्रालयमा असहमति जनाएको छ ।
२५ सदस्यसम्म विस्तार गर्न सकिने संवैधानिक प्रावधान रहेकोमा प्रचण्ड सरकारमा २३ जना सदस्य पुगेका छन् । बाँकी २ मन्त्रालय जसपालाई दिनेगरी मन्त्रिपरिषद विस्तार गरिएको बताइएको छ । वन तथा वातावरणर युवा तथा खेलकुद मन्त्रालय हाललाई प्रधानमन्त्री प्रचण्डसँगै रहेका छन् ।































प्रतिक्रिया