काठमाडौं ।
कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।
मङ्गलबार प्रतितोला ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्ने बित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज एक हजार २९५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिए यता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यस यता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔंस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।रासस































प्रतिक्रिया