निर्वाचन आयोगले निर्वाचनसम्बन्धि ऐन संशोधन प्रस्ताव संघीय संसदमा पेश गर्ने तयारी गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सुधारका लागि ऐन संशोधन गर्नुपर्ने भएकाले एकीकृत निर्वाचन कानुन लिएर संसदमा जाने तयारी गरिएको बताएका हुन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनको सुधारका लागि निर्वाचन ऐन संशोधन मुख्य कुरा भएको औंल्याउँदै त्यसको संशोधन गर्ने कामलाई आयोगले अघि बढाएको पनि स्पष्ट पारे ।
२०७४ सालको निर्वाचनपछि निर्वाचन आयोगको एक अध्ययन प्रतिवेदनले निर्वाचनको सुधारका लागि १४७ वटा क्षेत्रमा सुधार हुनुपर्ने र त्यसमध्ये ८२ वटा चाँही ऐन नै संशोधन गर्नुपर्ने भनेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनसम्बन्धि ऐन संशोधन आयोगको मुख्य कार्यभारको रुपमा रहेको स्पष्ट पारे । त्यसका लागि सम्बन्धित निकायहरुसँग थप छलफल गरी ऐन शंशोधनको एकीकृत मस्यौदा तयार पार्ने आफूहरुको योजना रहेको उनको भनाई थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापनमा सुधार हुँदै आएको दावी गर्दै विभिन्न संस्थाहरुले गरेको अनुगमन र पर्यवेक्षण प्रतिवेदनले औंल्याएको आधारमा सुधारका अन्य कार्ययोजनाहरु पनि तय हुँदै जाने बताए ।































प्रतिक्रिया