जिम्मेवारीपूर्वक काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

जिम्मेवारीपूर्वक काम गर्न कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ३ करोड नेपाली जनताको सम्पत्ति सुरक्षा गर्ने जिम्मेवारी भूमि व्यवस्था मन्त्रालयलाई भएकाले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।

मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरिय विकास समस्या समाधानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कर्मचारीलाई त्यस्तो निर्देशन दिएकी हुन् ।

‘जनताको सम्पत्तिको रक्षा गर्ने, जनताको सम्पत्तिको दस्तावेजहरुको स्क्यानिङ गरेर प्रविधिमैत्री बनाउने जिम्मेवारी हाम्रो काँधमा रहको छ’, मन्त्री अर्यालले भनिन्, ‘सिंगो ३ करोड जनताको सम्पत्ति रक्षा गर्ने हाम्रो जिम्मेवारी रहेको छ । तपाईहरु जिम्मवारीपूर्वक काममा लाग्नुस् ।’

मन्त्रालयले विगतमा छुटाइएको भूभाग समेटेर नेपालको अद्यावधिक÷राजनितिक नक्सा सार्वजनिक गरेको उनले बताइन् । आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाई मापन, अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा सरकारका नाममा फिर्ता लगायतका महत्वपूर्ण कार्य आफ्नो कार्यकालमा गरिएको भन्दै उनले स्थानीय तहमा सेवा हस्तान्तरण, भूमि बैंकको स्थापना, भूमिहिन सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपुर्ण जिम्मेवारी पूरा गर्नुपर्ने बताइन् ।

उनले प्रत्येक महिनाको कार्यतालिका बनाएर नतिजामूखी कार्यमा लाग्न आग्रह गर्दै तालिका अनुसार समयमै काम पूरा गर्ने कार्यमा अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । पहिलो चौमासिकदेखि नै कस्सिएर काममा लाग्नु पर्ने भन्दै उनले ऐन, नियम, कार्यविधी, नीति सम्बन्धीका लक्ष्यहरु समयमै सम्पन्न गर्नका निम्ती तदारुकताका साथ लाग्न आग्रह गरिन् ।

कोरोना महामारीको विषम परिस्थितीमा पनि गत आर्थिक वर्षको प्रगति महत्वपूर्ण उपलब्धी रहेको मन्त्री अर्यालको भनाइ छ । यस आर्थिक वर्षमा मन्त्रालयले ७३.२० प्रतिशतको वित्तिय तथा ८०.११ प्रतिशतको भौतिक प्रगति गरेको छ । गत आर्थिक वर्षमा ६८.८० प्रतिशत वित्तिय र ९६.९४ प्रतिशत भौतिक प्रगति मन्त्रालयको रहेको थियो ।

 

Logo