बेलायतबाट प्रकाशन हुने चर्चित पत्रिका ‘दि गार्डियन’ले अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेसीलाई सन् २०२२ को उत्कृष्ट पुरुष फुटबलर चयन गरेको छ । ‘दि गार्डियन’ ले प्रत्येक वर्ष खेलाडीको प्रदर्शन, उपलब्धि तथा सफलताका आधारमा १०१ उत्कृष्ट खेलाडीको सूची निकाल्ने गरेको छ । दि गार्डियनको २ सय ६ सदस्यहरुले मेसीलाई सर्वाधिक मतका साथ सन् २०२२ को उत्कृष्ट पुरुष खेलाडी चयन गरेको हो । त्यसक्रममा मेसीले फ्रान्सका युवा स्टार स्ट्राइकर किलियन एम्बापेलाई पछि पारेका थिए । मेसीले ७५ प्रतिशत भन्दा बढी मत पाएर वर्षको उत्कृष्ट पुरुष फुटबलर घोषित भए ।
सन् २०२१ मा दि गार्डियनले मेसीलाई दोस्रो स्थानमा राखेको थियो । पहिलो नम्बरमा पोल्याण्डका स्टार स्ट्राइकर रोवर्ट लेवान्डोस्की थिए । तर यस पटक लेवान्डोस्की सातौं स्थानमा झरेका छन् । लेवान्डोस्कीलाई यस पटक मेसी र एम्बापे लगायतले पछि पारेका छन् ।
सूचीमा रहेका मेसी र एम्बापे दुबै विश्वकप टोली फाइनलमा थिए । दुबै खेलाडीले विश्वकपभर उत्कृष्ट प्रदर्शन गरेका थिए । अर्जेन्टिनाका लागि मेसीले सात गोल गर्दा एम्बापेले फ्रान्सका लागि ८ गोल गरेका थिए । उच्च प्रदर्शनका लागि मेसीले गोल्डेन बल जित्दा एम्बापेले गोल्डेन बुट जितेका थिए । यसअघि कतारले अर्जेन्टिनी टोली बसेको विश्वविद्यालयलाई संग्रहालय बनाएको थियो । मेसीले वर्ष २०२२ मा १८ गोल गर्दै विश्वकप, फाइनलसिमा र लिग वानको ट्रफी जित्न सफल भएका छन् । यस्तै मेसीले वर्ष २०२३ मा बालोन डी’ ओर र फिफाद्धारा प्रदान गरिने दि बेष्ट अवार्डको प्रमुख दाबेदार पनि हुन् । आफ्नो करिअरमा ७९० गोल गर्दै मेसीले ४२ अन्तर्राष्ट्रिय ट्रफी जितिसकेका छन् । ट्रफी संख्याको आधारमा मेसीभन्दा अघि ब्राजिलका ड्यानी अल्भेस मात्र छन् । अल्भेसले आफ्नो करिअरमा ४३ ट्रफी जितेका थिए । गोल अन्तरका आधारमा पनि मेसी सर्वाधिक गोल स्कोरर रोनाल्डोभन्दा २९ गोलले मात्र पछि छन् ।
दी गार्डियनले सार्वजनिक गरेको वर्षका उत्कृष्ट १ सय फुटबलरहरुको सूचीको चौंथो स्थानमा म्यानचेस्टर सिटीका नर्वेली स्टार अर्लिङ हालाण्ड रहँदा पाँचौं स्थानमा रियल म्याड्रिडका क्रोएसियाली स्टार लुका मोड्रिच परेका छन् । यस्तै म्याचेष्टर सिटीका केभिन डी ब्रुएन, बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, रियल म्याड्रिडका भिनिसियस जुनियर, रियल म्याड्रिडकै थिबाउट कोर्टुवा, लिभरपुलका मोहम्मद सलाह पनि शीर्ष १० मा पर्न सफल भएका छन् ।
दी गार्डियनको उत्कृष्ट १०० खेलाडीहरुको सूचीमा क्रिस्टियानो रोनाल्डो भने शीर्ष ५० मा पनि पर्न सकेनन् । रोनाल्डो सूचीको ५१औं स्थानमा सिमित हुन पुगेका छन् ।































प्रतिक्रिया