अदालतमा नाबालिग बलात्कार जस्तो जघन्य अपराधको मुद्धा विचाराधीन रहेको अवस्थामा नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काउने निर्णय गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत आसन्न त्रिकोणात्मक शृंखलाका लागि लामिछानेले विहीबारदेखि राष्ट्रिय टिममा प्रवेश पाएका हुन् ।
गम्भीर फौजदारी अभियोगको छिनोफानो नहुँदै सन्दीपलाई देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिममा फिर्ता बोलाउने क्रिकेट संघको निर्णय न्यायको सामान्य सिद्धान्त र व्यवहारिक दृष्टिकोणबाट पनि गलत देखिने कानुनव्यवसायीहरुको मत छ ।
राष्ट्रिय टिमको तत्कालीन कप्तान सन्दीपलाई गत भदौ ५ गते राति गौशालास्थित एक होटलमा नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप लागेको थियो । असोज २० गते पक्राउ परेका उनलाई कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशपछि उच्च अदालत पाटनले पुस २८ गते सन्दीपलाई कारागार बाहिर बसेर मुद्दा लड्न मिल्ने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उनको रिहाइमा ५ बुँदे शर्त समेत राखिएको छ ।
शर्त अनुसार उनले यो अवधिमा देश होइन, उपत्यका छाड्न समेत प्रहरीको अनुमति लिनुपर्छ । त्यो आदेश अनुसार अहिले पनि उनी प्रहरी निगरानीमै छन् । तर, ती शर्तमा उच्च अदालतले सन्दीपलाई ‘क्रिकेट खेल्न नपाउने नभनेको’ क्यानले बताएको छ ।
अदालतले सशर्त रिहा गर्दा क्रिकेट खेल्न नपाउने आदेश नदिएकाले अब सम्भव भएका जति खेलमा सन्दीपको क्षमता प्रयोग गर्ने निर्णय गरिएको क्यानको भनाइ छ ।
फौजदारी अभियोग लागेको एउटा व्यक्तिलाई त्यसको अन्तिम फैसला आउनुअघि नै लोकप्रिय खेल मार्फत देशको प्रतिनिधित्व गर्ने ठाउँमा पु-याउने निर्णय क्यानले गरेको छ । यसले नेपाली क्रिकेट क्षेत्रमा नैतिकता र सार्वजनिक मर्यादा जस्ता विषयले त्यती फरक नपार्ने संकेत दिन खोजेको जस्तो देखिएको छ ।
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा शुक्रबारबाट सहभागी समेत भइसकेका छन् ।
गत मंगलबार पोखरामा बसेको नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथिको निलम्बन फुकुवा गरेको थियो । उनको निलम्बन फुकुवासँगै गत बिहीबार राति क्यानले अर्को महिना हुने त्रिदेशीय एकदिवसीय शृंखलाका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा बोलाएका खेलाडीको सूचीमा सन्दीपको पनि नाम रहेको छ । सोही अनुसार गत शुक्रबारदेखि सुरु भएको दोस्रो चरणको बन्द प्रशिक्षणमा सन्दीप सहभागी भएका हुन् ।
यद्यपि, उनीविरुद्ध उच्च अदालतमा परेको मुद्दाको टुंगो लागिसकेको भने छैन । सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टीममा समावेश गरिएको नेपाली कांग्रेसका दुई महामन्त्रीले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिममा नराख्न नेपाल क्रिकेट संघलाई दबाब दिएका छन् । उनीहरु आफैंले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दबाब दिएको खुलाएका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो स्टाटसमा सन्दीपलाई टिममा राखिएकोमा विरोध जनाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आफूहरुले टिममा नराख्न भनेको तर उनले अटेर गरेको महामन्त्रीद्वयको भनाइ छ । महामन्त्री गगन थापाले बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार पाउन नसक्ने बताएका छन् ।
सन्दिपको विरोधमा केही युवायुवतीले माइतीघरमा प्रदर्शन समेत गरेका छन् । महिलावादी अभियन्ताहरूको पहलमा भएको प्रदर्शन नेपाल क्रिकेट संघविरूद्ध लक्षित थियो । प्रदर्शनकारीले बलात्कारको आरोप लागेका व्यक्तिलाई राष्ट्रिय टीममा समावेश गर्न नहुने बताएका छन् ।































प्रतिक्रिया