प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताएका छन् ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समिति बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतले माओवादी आन्दोलन र यसको नेतृत्वप्रति न्याय भएको बताएका हुन् ।
उनले भने- “संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा होइन। यसको ऐतिहासिक महत्व छ। भोलि कसरी जान्छ अहिल्यै भन्न सकिँदैन। तर, एउटा इतिहास त लेखियो। यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन। त्यसले के प्रमाणित गरेको छ भने माओवादी नेतृत्वले मात्र देशलाई एकतावद्ध गर्नसक्छ, सबै दलहरूलाई मिलाएर लैजान सक्छ। माओवादी नेतृत्वले मात्र राष्ट्रिय सहमति कायम गर्न सक्छ। त्यसैले हाम्रो आन्दोलन र नेतृत्व देशको सर्वमान्य भएको छ।”
उत्पीडितहरू नजागी कसैले दयाले अधिकार नदिने बताउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताए ।
“हिजो ठूलो आन्दोलन र बलिदानी गर्यौँ। त्यसको बलमा धेरै अधिकार प्राप्त भएका छन्। त्यो पर्याप्त छैन, तर ती केही पनि होइनन् भन्ने होइन। अहिले फेरि परिवर्तनविरोधी शक्तिहरू जनताका अधिकार कुण्ठित गर्न लागिरहेका छन्। उत्पीडितहरू आफै नजागी, आफै अग्रसर नभइकन दयाले कसैले अधिकार दिँदैन, दलित समुदायको संघर्ष र भूमिकाबिना राजनीतिक परिवर्तन सम्भव थिएन। नेपालको क्रान्तिकारी आन्दोलनमा दलितहरूको महत्वपूर्ण छ ।” उनले भने ।





























प्रतिक्रिया