क्यान इन्फोटेक २०२३काे आज अन्तिम दिन, स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण

क्यान इन्फोटेक २०२३काे आज अन्तिम दिन, स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण

केन्द्रबिन्दु
0
Shares

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ डिशहोम फाइबरनेट ’ मा स्टार्टअप, नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण बढेको छ । सूचना सञ्चार प्रविधि क्षेत्रकै सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित क्यान इन्फोटेक २०२३ आइतबार समापन हुँदैछ ।

यस संस्करणमा नेपालमै विकास भएका विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित उत्पादन र सेवालाई विशेष प्राथमिकताका साथ प्रदर्शनीमा राखिएको छ । साथै विभिन्न कलेजका विद्यार्थीले तयार पारेका परियोजनाहरूलाई पनि स्थान दिइएको छ । प्रदर्शनी हेर्न आउने अधिकांश अवलोनकर्ताले स्वदेशी सीप र उत्पादन सहितको प्रविधिको प्रशंसा गरेका छन् ।

प्रदर्शनीमा ३१ ओटा स्टार्टअप छन् । यसअन्तर्गत यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स, सफ्टवेयर स्टोर, क्यूरा हेल्थ, चिम्पभाइन लगायतका स्टार्टअप टिमले तयार पारेका नवीनतम उत्पादन एवं सेवामा विद्यार्थी देखि व्यवसायी र लगानीकर्ताले चासो देखाएका छन् । 

स्टार्टअप कमिटीका संयोजक दीपेन्द्र पौडेलले क्यान इन्फोटेक स्टार्टअपका लागि एस्पोजर प्लेटफर्म बनेको बताउँदै यसबाट स्थानीय प्रतिभा र नवप्रवर्तनको विकास हुने विश्वास व्यक्त गरे ।  

यसबाहेक प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्ड सँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायत गरी १५० भन्दा भढी स्टल छन् ।

शनिबार बिदाको दिन भएकाले ब्रान्डिङ कक्ष र डोमभित्र रहेका अधिकांश स्टल दिनभर भरिभराउ थिए । साथै क्यान इन्फोटेककै अवसर पारी कोडिङ च्यालेन्जदेखि अनलाइन गेमिङ कम्पिटिशन प्रतियोगिता सञ्चालन भइरहेको छ । यस्ता प्रतिस्पर्धामा विशेषगरी विद्यार्थीको क्रेज देख्न सकिन्छ । त्यस्तै क्यान इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटी मैत्री बस रहेको छ । हालसम्म ६०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ । त्यस्तै क्यान इन्फोटेककै अवसर पारी रक्तदान कार्यक्रम समेत सञ्चालन भइरहेको छ । यस अन्तर्गत शनिबार सम्म १६३ जनाले रक्तदान गरेका छन् ।

अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर जारी राखेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ६० प्रतिशतसम्म छुट प्रदान गरेका छन् ।  शनिबार कलेजका विद्यार्थी, युवासँगै कर्पोरेट क्षेत्रबाट उल्लेख्य मात्रामा अवलोनकर्ता आएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनका अनुसार प्रदर्शनीस्थलबाटै कम्पनीले आफ्ना लागि डिलर तथा बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएका छन् । यसैबीच प्रदर्शनीमा विशिष्ट व्यक्तिहरु पुग्ने क्रम जारी छ ।

यसैबीच क्यान इन्फोटेकको अवसर पारी आयोजकले क्यान आईसीटी सेमिनारसमेत सञ्चालन गरिरहेको छ । यस अन्तर्गत आइतबार ‘नेपालमा इन्टरनेट इकोसिस्टम’ विषयमा दिउँसो नेपाल पर्यटन बोर्डको सभाहलमा इन्टरनेट क्षेत्रका सरोकारवालाहरूबीच विशेष अन्तर्क्रिया हुने भएको छ । यस अघि विभिन्न तीन विषयमा आईसीटी सेमिनार सम्पन्न भइसकेको छ ।

Skip This
Skip This
Logo