नेपाली महिला राष्ट्रिय फुटबल टोलीले उत्कृष्ट पुनरागमन गर्दै भारतविरुद्ध रोमान्चक बराबरी खेलेको छ ।
चेन्नईमा बुधबार राति भएको पहिलो मैत्रीपूर्ण खेलमा फरवार्ड सावित्रा भण्डारीले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि भारतलाई २-२ बराबरी रोकेको हो ।
खेलको ५६औं मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि ६८ औं मिनेटमा इन्दुमथी काथिरेसनले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् ।
भारत जिततर्फ उन्मुख हुँदै थियो तर, सावित्रा बाधक बनिन् । ८८औं मिनेटमा स्विटी देवीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसलाई सावित्राले सहजै गोलमा सदुपयोग गरिन् । त्यसपछि खेलको अन्तिम मिनेटमा भारतीय डिफेन्सको कमजोरीको फाइदा उठाउँदै सावित्राले गोलरक्षकलाई छक्काएर दाेस्राे गोल गर्न सफल भइन् ।
नेपालले अब दोस्रो मैत्रीपूर्ण खेल शनिबार खेल्नेछ ।





























प्रतिक्रिया