भारतसँगका दुई मैत्रीपूर्ण खेल खेलेर आईतवार नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ ।
प्रशिक्षक अनन्तराज थापा पहिलो पटक महिला प्रशिक्षकको रुपमा नियुक्त भएपछिको पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा सहभागि भएर नेपाली टोली आईतबार स्वदेश फर्किएको हो । आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएपछि नेपाली टोलीकी कप्तान एञ्जिला तुम्बाप्पोले भारतसँगको दुई मैत्रिपूर्ण खेल नेपाली टोलीका लागि अनुभव सँगाल्ने राम्रो अवसर भएको प्रतिक्रिया दिइन् । उनले पहिलो खेलमा पछि परेको अवस्थामा पनि पुनरागमन गर्नसक्नु टिमको प्रदर्शनमा सुधार भएको टिप्पणी गरिन् । राम्रो पुनरागमन गर्नमा सबै खेलाडीले आ–आफ्नो ठाउँबाट राम्रो खेलेको उनले बताइन् ।
आयोजक टोलीले उमेर समूहका विभिन्न प्रतियोगिता खेल्दै अनुभव लिएपनि उनीहरुविरुद्ध राम्रो नतिजा निकाल्दा आफू सन्तुष्ट रहेको बताइन् । उनले प्रिति राई बिरामी हुनाले अपेक्षा अनुसारको खेल्न नसकेको र गीता राना चोटग्रस्त हुँदा केही कठिन भएको स्वीकार गरिन् ।
यस्तै, नेपाली टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले छोटो समयको तयारी भएपनि राम्रो भएको र सोही अभ्यासबाट घरेलु टोलीबिरुद्ध सुखद् नतिजा निकाल्न सफल भएको बताइन् । दुई खेल मध्ये दुवैमा सन्तोषजनक प्रदर्शन भएकाले सबै खेलाडीको मनोबल उच्च रहेको बताइन् । पहिलो खेलमा पछि परेको अवस्थामा स्ट्राइकर सावित्राले सम्हालिएको प्रदर्शन गर्न सकेको उनको भनाई छ ।
बिरामी भएका कारण अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल प्रिति राईले भने जितको खोजिमा आफ्नो टोली भएपनि राम्रो खेलेको बताइन् । अर्की खेलाडी अमिषा कार्कीले मैत्रिपूर्ण खेल आफ्नो लागि राम्रो अनुभव बटुल्ने अवसर भएको बताइन् । उनले आफ्नो स्वभाविक खेल खेल्न नसकेको भन्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
एशियन कप छनोटको तयारीमा रहेको नेपाली भारतसँगको खेलबाट राम्रो अनुभव लिएको छ । प्रशिक्षक अनन्तराज थापाले भ्रमण फलदायी भएको र फिफा तालिकाको ६१ औं स्थानको टोलीसँग खेल्दा आफ्नो टोलीको कमी कमजोरी केलाउने मौका मिलेको बताए । भ्रमणको क्रममा घरेलु टोलीमा निकालेको सफलतालाई निरन्तरता दिनुपर्ने धारणा प्रशिक्षक थापाले राखे ।
भारत भ्रमणको क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल खेलेको थियो । खेल अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै आयोजक भारतसँग २–२ को बराबरी खेलेको थियो । पुनरागमन गर्ने क्रममा सावित्राले एक पेनाल्टी गोलसहित एक गोल गर्न सफल भएकी थिइन् । यस्तै दोस्रो मैत्रीपूर्ण खेलमा भने नेपालले भारतबिरुद्ध गोलरहित बराबरी खेलेको थियो । बराबरी नतिजा निकाल्ने क्रममा कप्तान सुब्बाको खेल उत्कृष्ट रहेको थियो ।





























प्रतिक्रिया