विश्वकप विजेता अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेसी २०२२ को फिफा वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । फिफाले यो अवार्ड प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।
३५ वर्षिय मेसीले फ्रान्सेली दुई फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् । मेसीकै कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेका कारण मेसी यो उपाधिको हकदार भएका हुन् । विश्वकप प्रतियोगिताभर मेसीले ७ गोल र ३ असिस्ट प्रदान गरेका थिए । मेसी कतार विश्वकप प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि हुन् । समूह चरणको पहिलो खेलमै एसियाली राष्ट्र साउदी अरबसँग पराजित अर्जेन्टिनाले आफ्ना बाँकी ६ खेलमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।
मेसीले ‘द बेस्ट’ फिफा अवार्ड दोस्रोपटक जितेका छन् । यसअघि सन् २०१९ मा पनि मेसीले यो अवार्ड जितेका थिए । यो अवार्ड २ पटक जित्नेमा यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र पोल्यान्डका रोवर्ट लेवान्डोस्की मात्र थिए । तर अब सो समूहमा मेसी पनि समेटिएका छन् । यसअघि लेवानडोस्कीले पछिल्ला २ वर्ष लगातार यो अवार्ड जितेर रोनाल्डोसँग बराबरी गरेका थिए ।
रोनाल्डोले यो अवार्ड वर्ष २०१६ र २०१७ मा जितेका थिए । अब २–२ पटक यो अवार्ड जित्नेमा ३ खेलाडी भएका छन् । मेसीले यसपटक आफ्नै क्लबका सहकर्मी फ्रान्सका केलियन एमबाप्पे र फ्रान्सकै अर्का खेलाडी करिम बेन्जेमालाई पछि पारी यो अवार्ड जितेका हुन् । ला–लिगा र च्याम्पियन्स लिग विजेता करिम बेन्जेमा रियल मड्रिडका खेलाडी हुन् । फिफाले उत्कृष्ट–१४ खेलाडीको मनोनयनबाट दुई साताअघि मात्रै उत्कृष्ट–३ खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । उत्कृष्ट–३ खेलाडीमा मेसी, एमबाप्पे र बेन्जेमा परेका थिए । भोट अनुसार मेसीले ५२ अङक पाएर पहिलो, एमबापेले ४४ अङक सहित दोस्रो र बेन्जेमाले ३४ अङक पाएर तेस्रो स्थान प्राप्त गरेका छन् । मेसीले वर्ष २०२१–२२ मा क्लब तथा देशका लागि ४९ खेल खेल्दै २७ गोल गरेका थिए ।
यस्तै पेरिसमा सम्पन्न समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका मुख्य प्रशिक्षक लियोनेल स्कालोनी वर्षको पुरुष प्रशिक्षक घोषित भए । स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं इङ्लिस प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला–लिगा जिताउने मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारेका थिए ।
यस्तै बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गतवर्ष घरेलु मैदानमा लियोनेसलाई युरोपियन च्याम्पियनसिपमा पुर्याएपछि इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान महिलातर्फको उत्कृष्ट प्रशिक्षक बनिन् । यस्तै एस्टन भिल्ला र अर्जेन्टिनाका मुख्य गोलकिपर एमिलियानो मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भए । महिलातर्फ इङ्ल्यान्डकी मेरी अरप्सले सो अवार्ड जितिन । ३० वर्षीय मार्टिनेजले फाइनलमा फ्रान्सविरुद्धको पेनाल्टी शुटआउटमा चार पेनाल्टी बचाएर आफ्नो देशलाई विश्व च्याम्पियन बनाएका कारण मार्टिनेज उत्कृष्ट पुरुष गोलकिपर घोषित भएका हुन् ।
विजेताहरूको सूची…
उत्कृष्ट पुरुष खेलाडीः लियोनल मेसी
उत्कृष्ट महिला खेलाडीः एलेक्सिया पुटेलास
उत्कृष्ट पुरुष गोलकिपरः एमिलियानो मार्टिनेज
उत्कृष्ट महिला गोलकिपरः मेरी अरप्स
उत्कृष्ट पुरुष प्रशिक्षकः लियोनेल स्कालोनी
उत्कृष्ट महिला प्रशिक्षकः सरिना विग्म्यान
सर्वश्रेष्ठ पुस्कास अवार्डः मार्सिन ओलेक्सी
उत्कृष्ट फ्यान अवार्डः अर्जेन्टिना फ्यान
उत्कृष्ट फेयर प्ले अवार्डः लुका लोचोसभिली































प्रतिक्रिया