काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरुले पार्टीका विभाग विस्तारको काम रोक्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
पार्टी कार्यालयमा भेला भएका पौडेल समूहका नेताहरुले विधान विपरित विभाग गठनको काम नगर्न आग्रह गरेका हुन् । पार्टीको १४ औं महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका विभाग गठनको काम रोक्न पौडेल पक्षका नेताहरुले आग्रह गरेका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले आचारसंहिता लागू भइसकेको अवस्थामा विभाग गठनको काम अघि बढाउनु विधान विपरित भएको बताए । महाधिवेशनलाई प्रभावित पार्ने गरी भइरहेका निर्णय विरुद्ध अझ सशक्त भएर अगाडी बढ्न आज बैठक बोलाइएको उनले बताए ।
आगामी महाधिवेशनमा आफू सभापतिको दावेदार भएको उल्लेख गर्दै कोइरालाले नयाँ मान्छेलाई पार्टी प्रवेश गराउने र पुराना नेताहरुलाई पार्टीबाट निकाल्ने काम भइरहेको भन्दै असन्तुष्टि समेत जनाए । महाधिवेशन भएको ४ वर्षसम्म विभाग गठन गर्न तयार नभएका सभापति देउवालाई महाधिवेशनको मुखमा किन हतारो भयो भन्दै उनले प्रश्न समेत गरे ।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान अनुसार महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नु पर्ने भए पनि विधान विपरित अहिले गठन भइरहेको कुराको विरोध स्वरुप भेला आयोजना गरिएको बताए । यसअघि नै अहिले गठन भएका विभागहरुले वैधानिकता पाउँदैनन् भनेर सभापति देउवालाई पत्र पठाइएको उल्लेख गर्दै उनले पार्टीको कुनै पनि पद दाइजो जसरी बाँडेर हिड्ने अधिकार सभापतिलाई नभएको बताए । कसलाई के पद दिने भन्ने अधिकार केन्द्रीय समितिलाई मात्रै भएको उनको भनाइ छ ।
पार्टीको महाधिवेशन कार्यतालिका तय भइसकेको अवस्थामा विभाग गठन लगायतका काम निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै पौडेल समूहले विरोध जनाउँदै आएको छ ।































प्रतिक्रिया