व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन्, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय उद्यमीसँग जोडिएको छ ।
पाल्पामा सक्रिय रुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्त रुपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छिन्। पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन् । एक वर्ष अघिदेखि उनले रामपुरमा अचार उत्पादन सुरु गरेकी छिन्। पारिवारिक अवस्था अब्बल रहेपनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको गरुन् भनेर आफैँले व्यस्त समयका अलवा व्यावसायिक अचार उत्पादन सुरु गरेको उनले बताइन् ।
“महिलालाई सशक्तीकरण गर्न, रामपुरको उत्पादन बाहिर चिनाउन र फुर्सदको समय सदुपयोग गर्दै यस व्यवसायमा लागेको छु”, उनले भनिन्, “अहिलेको बजार अवस्था राम्रै रहेकाले उत्पादन वृद्धि गर्दै जाँदा यसबाट मनग्य आम्दानी लिन सकिने सम्भावना एक वर्षको अनुभवमा देखेको छु ।” घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ‘भान्छाको साथी दिदीको अचार’ नाममा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन सुरु गरेकिछन्।
मुला, गाँजर, गुन्द्रुक, भटमास, तामा, अकबरे खुर्सानी, मेथी, लसुन, आँप, अमला, इमिली, लप्सीलगायतका गाउँघरमा उत्पादन हुने कृषि उपजबाट विभिन्न खालका अचार उत्पादन गछिन् । होलसेल मूल्य हाल (तौलअनुसार फरक) न्यूनतम १ सय १० रुपैयाँ देखि बढीमा २ सय ५० र खुद्रा मूल्य न्यूनतम १ सय ३५ देखि ३ सय रुपैयाँमा धमाधम बिक्री भइरहेको छ ।
उनले भनिन्, “अचारको माग धेरै आएको हुँदा यसलाई विस्तार गरी ठूलो मात्रामा उत्पादन गर्ने तयारी गरिरहेको छु, ल्याब टेस्टको लागि भैरहवा पठाइएको हुँदा त्यसको रिपोर्ट आएपछि उत्पादन बढाएर विभिन्न स्थानमा ब्राण्ड बनाएर बजार पठाइनेछ ।”
पाल्पा .(तानसेन), बुटवल, काठमाडौंमा समेत अचार खपत गरेकी छन्। स्थानीय उत्पादन भएकाले विभिन्न स्थानबाट खोजी खोजी अचार माग गर्ने बढेको उनले बताइन् । स्थानीय उत्पादनको स्वाद फरक र गुणस्तर राम्रो भएकाले विदेशमा बसोबास गर्ने नेपालीबाट माग भई विभिन्न देशमा अचार पुगेको उद्यमी पोखरेलले बताउँछिन् ।
कोभिड–१९ को प्रभावले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै केही नयाँ उद्यम गरौँ भन्ने मनसायले यस व्यवसायमा सीप सिकेर उत्पादन सुरु गरेको उनको भनाइ छ । उद्यमी पोखरेलले काठमाडौँको बूढानीलकण्ठमा रहेको रिक फुड उद्योगमा पाँच दिनको तालिम लिएर व्यावसायिक उत्पादनलाई जोड दिएकी हुन् ।
“न्याय र समानता, आर्थिक समृद्धिका लागि महिलाको अर्थपूर्ण सहभागीता हुनु जरुरी छ, महिला आफैँमा आर्थिक क्षेत्रमा सक्षम भइएन भने घरपरिवार, समाजमा हिंसाको सिकार बन्नुपरेको छ, आफैँले कमाउन सकियो भने अरुसँग आश्रित हुनुपरेन, यसले महिला हिंसाका घटना कमी हुँदै जानेछ”, उद्यमी पोखरेलले भनिन् ।
उनले रामपुरमा भएको व्यापार मेलामा रु एक लाख २५ हजार बराबरको अचारको कारोबार गरेकी छिन् । एक वर्षको अवधिमा मात्रै उनले एक हजार पाँच सय किलो अचार बजारमा खपत गरेकी छन् । बिक्री गर्न तीन सय किलो अचार बाँकी छ भने उत्पादन कार्य चलिरहेको छ । एक वर्षको अवधिमा करिब रु दुई लाख बराबरको अचार बिक्री भएको छ ।
गत माघ २७ देखि फागुन ८ सम्म रामपुरमा चलेको तेस्रो व्यापार मेला तथा व्यापार मेलामा कृषि ज्ञान केन्द्र पाल्पाको स्टल व्यवस्थापनमा राखिएको अचार मेलाको मुख्य आकर्षणसमेत बनेको थियो । सोही मेलाका कारण अहिले अचारको माग थपिँदै गएको उद्यमी पोखरेल बताउछिन् । यस क्षेत्रमा सुक्खाभन्दा झोलिलो अचार खोज्ने ग्राहक बढेकाले उनीहरुको मागलाई मध्यनजर गर्दै झोलिलो खालको अचार उत्पादन गर्ने उनको सोच छ । आफ्नै गाउँघरका खेतबारीमा उत्पादन भएका कृषिजन्यउपजलाई अचार बनाएर बजार पठाउँदा आनन्दको अनुभूति भएको उनले अनुभव सुनाइन् ।
आफूले केही व्यवसाय गरेर समाजमा अन्य महिलालाई पनि विभिन्न उद्यम, व्यवसाय गर्न अग्रसर गराउँदै सामाजिक अभियान्ता, पत्रकारिता सँगसँगै यस उद्योगलाई निरन्तररुपमा अगाडि बढाउने उनले बताइन् । उद्यमी पोखरेल हाल बोलीखबर डटकमका सम्पादक, मेचीकाली राष्ट्रिय दैनिकका पाल्पा संवाददाता तथा प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष हुन । यसका अलवा अहिले उनी मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समितिद्वारा सञ्चालित साइपल बोटेक ज्वइक टिएमएस जेभी एसोसिएसनको सामाजिक सहजकर्ताका रुपमा समेत काम गर्दै आएकी छन् ।
व्यस्त समयको बाबजुद पनि अचार उत्पादनमा सक्रियताका साथ लागिपरेकी छन् । श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका छन् । घरमा १ छोरा र आफू बसोबास गर्दै आएकी छन् । उनले पत्रकारिता, सामाजिक अभियान्तासँगै गरेको यस अचार उद्योगले फुर्सदको समय काममा लगाउने र आर्थिक क्षेत्रमा अरुको निर्भर नभई आफैँ अब्बल बन्नुपर्छ भन्ने सामाजमा राम्रो प्रभाव पारेको रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताए ।





























प्रतिक्रिया