पटारमा ‘एक घर एक धारा’ निर्माण

पटारमा ‘एक घर एक धारा’ निर्माण

केन्द्रबिन्दु
0
Shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ। गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा 'एक घर एक धारा' सहितको खानेपानी आयोजना निर्माण भएको हो ।

पटारका वासिन्दा समेत रहेका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका १५९ जनसंख्या लाभान्वित भएका जानकारी दिए ।उनले भने, ‘मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ,आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ।’ २ वटा सार्वजनिक धारा निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए ।

कूल २६ लाख ७४ हजार ३१४ रुपैयाँ लागत अनुमान गरिएको थियो। वेल्फेयरको १७ लाख ६ हजार ८९७ र उपभोक्ताको ९ लाख ६७ हजार ४१६ रुपैयाँको लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ। 

गत फागुन ६ गते सम्झौता भएको आयोजना चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सोमवार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो। अधिकांश विकास आयोजना ढिलासुस्तीले थलिएको अवस्थामा पटार खानेपानी आयोजना निर्धारित समयभित्रै सम्पन्न भएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए।

Logo