गोरखा पुगेर प्रधानमन्त्रीले भने- छिट्टै सरकारलाई पूर्णता दिन्छौँ

गोरखा पुगेर प्रधानमन्त्रीले भने- छिट्टै सरकारलाई पूर्णता दिन्छौँ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताएका छन् । 

गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिए ।

“हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ”, उनले भने, “सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छाैँ ।” 

प्रधानमन्त्री प्रचण्डले प्रदेशका सरकार पनि तत्काल पुनःगठन हुने बताए । “सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौँ”, उनले भने, “जनताका विकास, निर्माण र समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न एकीकृतरुपमा काम अगाडि बढाउने योजनासहित तीनवटै तहका सरकारबीच बृहत् बैठकको आयोजनासमेत गर्न लागिएको छ ।”

उनले तिनै तहको सरकारमार्फत देशभरिका विकास निर्माणका कामलाई गति दिने बताए । 

प्रधानमन्त्री प्रचण्डले नेपालको विकासको मोडालिटीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेकोसमेत औँल्याए । सडकको विकासले मात्र समृद्धि हुन नसक्ने भन्दै उनले कृषि, शिक्षा, रोजगारीसँग जोडेर सडक निर्माण गर्न सकेमात्र विकासले फड्को मार्ने बताए । 

प्रधानमन्त्री प्रचण्डले चुनाव लड्दा बनेको राजनीतिक समीकरणबाट विश्वासको मत लिएको भोलिपल्टै गोरखा आएर सडक शिलान्यास गर्न पाउनु खुसीको कुरा भएको उल्लेख गरे । उनले आरुघाट–बेनिघाट–लार्के सडकखण्ड निर्माणको कामलाई तीव्ररुपमा अगाडि बढाउने तयारी भइरहेको बताए । गोरखाकाली रबर उद्योग पुनःसञ्चालन टिम बनाएर मोडालिटी तयार गर्नका लागि छलफल गरिरहेको उनको भनाइ छ ।

Logo