काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा कुखुराको मासुले बजार नपाएर कुखुरा पालक किसानले जिउँदो कुखुरा खाल्डोमा हालेको तथा कम उत्पादन गर्न थालेका थिए । तर लकडाउनकै बीचमा जिउँदो कुखुराको बजारमा अभाव भएको भन्दै लकडाउनकै अवधिमा तीनपटक मूल्यबृद्धी भएको थियो ।
तर पछिल्लो तीन महिनापछि बजारमा जिउँदो कुखुरा सहजरुपमा पाउन थालेकाले कुखुराको मासुको मूल्य घट्न थालेको छ । शनिबारदेखि जिउँदो कुखुराको मूल्यमा १० रुपैयाँ र तयारी मासुको मूल्यमा १५ रुपैयाँका दरले घटाएको पोल्ट्री संघका अध्यक्ष जगबहादुर बिसीले बताए ।
उनका अनुसार बजारमा पछिल्लो केही दिनदेखि जिउँदो कुखुरा सहजरुपमा आयात हुन थालेकाले मासुको मूल्य घट्न थालेको छ । उनले भने, ‘अब क्रमिक रुपमा कुखुराको मासुको मुल्य घट्दै जाने र केही हप्तामै कुखुराको मासुको मूल्य घटेर प्रतिकेजी ३ सय रुपैयाँ आइपुग्छ ।’
जिउँदो कुखुरा र मासुको मूल्य बढ्न थालेपछि कतिपय किसान र फर्महरुले चल्ला हाल्न थालेका थिए । यति बेला उक्त उत्पादन आउन थालेपछि मूल्य घटेको उनको भनाइ रहेको छ ।
पछिल्लो समय पोल्ट्री संघले कुखुराको मासुको मूल्य ३ सय ९० रुपैंयाँ कायम गरेको थियो । लकडाउनमा कुखुरापालक किसान र पोल्ट्री संघहरुले उत्पादन कम गरेका कारण जिउँदो कुखुरा र मासुको मूल्य उच्च बृद्धी हुँदै गएको थियो । नयाँ उत्पादन आउन थालेपछि बजार पुरानो लयमा फर्कन थालेको बिसीले बताएका छन् ।
गत महिना मासुको मूल्य एक सातामा २ पटकसम्म बढ्दै ३ सय ७५ सम्म पुगेको थियो । त्यसको केही दिनमै १५ रुपैयाँले बढेर ३ सय ९० रुपैयाँ कायम भए पनि बजारमा ४ सय २० रुपैयाँ सम्ममा बिक्री हुँदै आएको थियो । लकडाउनमा मासुको खपत घट्न थालेपछी जिउँदो कुखुराको मूल्य प्रतिकुखुरा १ सय ७० सम्म आइपुगेको थियो । तर उत्पादन कम हुँदै जाँदा जिउँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ६० रुपैयाँ पुगेको थियो । अहिले जिउँदो कुखुराको मूल्य किसानको लागि २ सय ५० रुपैयाँ र उपभोक्ताको लागि २ सय ७० रुपैयाँ पर्ने पोल्ट्री संघले जानकारी दिएको छ ।
चार महिनाको लकडाउन पश्चात अहिले उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ भने रेष्टुरेन्ट र होटलहरु पूर्णरुपमा सञ्चालनमा आउन थालेपछि मासुको खपत पनि बढ्न थालेको छ । यस्तो अवस्थामा बजारको माग धान्नका लागि पनि नयाँ उत्पादन आवश्यक भएको छ । तर साउन महिनामा कुखुराको मासुको खपत अन्य महिनामा भन्दा कम हुने गरेको संघले जनाएको छ ।
त्यस्तै, बजारमा कुखुराको मासुको मूल्य सामान्य घटे तापनि हरियो तरकारीको मूल्य भने दोब्बरले बृद्धी भएको छ । पछिल्लो तीन सातादेखि मुलुकभर लगातार रुपमा परेको वर्षाका कारण उपत्यकामा तरकारी आयात कम भएकाले तरकारीको मूल्य दोब्बरले बृद्धी भएको छ ।































प्रतिक्रिया