राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई आज शपथग्रहण गराउने भएका छन्।
शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शपग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले अपराह्न तीन बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताए। तीन बजे शपथ ग्रहण भएपनि दलहरूले नाम दिन नसक्दा शपथ ग्रहणबारे अन्योल भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै राष्ट्रपति पौडेललाई भेटेर जति नाम आए त्यतिलाई नै शपथ ग्रहण गराउन आग्रह गरेका थिए।
मन्त्रिपरिषद् गठनमा प्रधानमन्त्री प्रचण्डको एक हप्तादेखिको प्रयास असफल भइरहेको छ। दलले पाउने मन्त्रालयको संख्यामा सहमति भइसकेको छ। सहमतिअनुसार काँग्रेसले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ तथा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २-२ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्। जनमतलाई एक मन्त्री र एक राज्यमन्त्री छुट्याइएको छ।
लोसपा, नेपाल समाजवादी, नागरिक उन्मुक्ति र आम जनता पार्टीले १-१ वटा मन्त्रालय पाउने छन्। प्रधानमन्त्रीले सहमति भएको संख्याअनुसार मन्त्रीको नाम दिन भनेका थिए। तर, दलहरूले मन्त्रालय नै टुंगो नलागी नाम दिन जायज नहुने तर्क गरेका छन्। प्रधानमन्त्रीले दिउँसो १ बजेसम्म मन्त्रीको नाम दिन आग्रह गरेका छन्।
गठबन्धनको ठूलो दल काँग्रेसलाई अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानुन मन्त्रालय दिने प्रस्ताव गरेका छन्। माओवादी केन्द्रले गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय राख्ने प्रधानमन्त्रीको प्रस्ताव छ।
त्यसैगरी एकीकृत समाजवादीलाई भौतिक पूर्वाधार र वन, नेपाल समाजवादी पार्टीलाई खानेपानी तथा सरसफाइ, जनमत पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति र नागरिक उन्मुक्ति पार्टीलाई युवा तथा खेलकुद मन्त्रालय लिन भनिएको छ।
जनता समाजवादी पार्टीलाई शिक्षा, विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्छी तथा लोकतान्त्रिक समाजवादी पार्टीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिन प्रस्ताव गरिएको छ।
पुस १० गते प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेका एमाले, रास्वपा र राप्रपाले सरकार छाडेका छन्। रास्वपाले भने सरकारलाई विश्वासको मत दिएपछि प्रधानमन्त्रीले उसलाई सरकारमा ल्याउने प्रयास जारी राखेका छन्।































प्रतिक्रिया